नवलपुरः नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको जानकारी दिए । यसअघि, सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो संख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्यामा वृद्धि भएको उनले बताए । उनका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ । त्यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको उनले जानकारी दिए ।

अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै उनले बाँकी ४०८ गैँडाको लिंग पहिचान हुन नसकेको बताए । ५२० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक खरालले चैत ९ गतेदेखि सुरु गरिएको गणना चैत २७ गते राति मात्रै सकिएको बताए । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्यांक संकलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए ।

गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सातजना घाइते भएको तथा एकजना गम्भीर घाइतेको काठमाडौंमा उपचार हुँदै गरेको उनले बताए । हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिए । पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो । -रासस