नयाँ दिल्लीः कोरोना संक्रमणदर निकै बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध घोषणा गरिएको छ ।

दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले जनाएका छन् । स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै प्रकारका गतिविधि गर्न रोक लगाएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा हिस्सा लिने खेलाडी बाहेक अरूलाई स्वीमिङ पूल प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। दिल्लीमा यतिखेर गर्मी निकै चढेको छ । दिल्ली विपद् प्रबन्धन प्राधिकरणको आदेशानुसार अब विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन् । रेस्टूराँ र बार सञ्चालकहरूले कूल क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र प्रत्यक्ष सेवा दिन पाउनेछन् ।

दिल्लीका सबै कलेज र कोचिङ संस्थाहरू बन्द गराइएको छ । सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न थालिएको छ । कोरोनाबाट अतिप्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रीहरूले आफू संक्रमित नरहेको प्रमाणस्वरूप आरडीटी–पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने नियम लगाइएको छ । रिपोर्टबिना नै दिल्ली पुगे १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । -एजेन्सी