जेरुसेलमः कोरोनाविरुद्धका खोप फाइजर र बायोएनटेकको दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको भेरियन्टमा कम प्रभावकारिता देखिएको छ ।

इजरायलको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक क्लेट र तेल अभिभ युनिभर्सिटीले वास्तबिक विश्व तथ्यांकका आधारमा गरेको अध्ययनले यस्तो देखाएको हो । शनिबार सार्वजनिक गरिएको उक्त अध्ययनमा कोरोना संक्रमण भएको कम्तीमा १४ दिनपछि खोप लगाएका ४०० संक्रमितको तुलना खोप नलगाएका ४०० संक्रमितसँग गरिएको थियो । खोप नलगाएका भन्दा दुई डोज खोप लगाएका विरामीमा यो भेरियन्टको सर्ने दर ८ गुणा बढी रहेको देखिएको छ । यसले बेलायतमा देखिएको भेरियन्टको तुलनामा दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध खोपको प्रभाव कम रहेको संकेत गर्छ । “खोप नलगाएकाहरूको तुलनामा दोस्रो डोज लिएकाहरूमा दक्षिण अफ्रिकी भेरियन्ट अनुपातहीन रूपले अधिक दरमा भेटियो ।

यसको मतलब दक्षिण अफ्रिकी भेरियन्ट खोपको सुरक्षा तोड्न केही हदसम्म सक्षम छ भन्ने हो,” तेल अभिभ युनिभर्सिटीकी एडि स्टर्नले भनिन् । यद्यपि इजरायलमा दक्षिण अफ्रिकी भेरियन्ट संक्रमित कम भएकाले अध्ययनमा थोरै नमुनाहरूको मात्र अध्ययन गरिएको अध्ययनकर्ताहरूले बताएका छन् । अध्ययनको उद्देश्य कुनै पनि भेरियन्टकोविरुद्ध खोपको प्रभावकारीता कम देखाउनु नभएको उनीहरूले स्पष्ट पारेका छन् । अप्रिल १ तारिखमा मात्र फाइजर र बायोएनटेक कम्पनीले परीक्षणको नयाँ तथ्यांकलाई उदृत गर्दै खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको दाबी गरेका थिए । यसअघि भएका केही अध्ययनहरूले पनि यी कम्पनीको खोप अन्य भेरियन्टको तुलनामा दक्षिण अफ्रिकी भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको देखाएका थिए । -रोयटर्सबाट