नयाँ दिल्लीः भारत सरकारले १८ वर्षमाथि सबै नागरिकलाई कोरोनाभाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको एक बैठकले मे १ देखि सुरू हुने तेस्रो चरणको खोप अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने निर्णय भएको हो । यसअघि भारतमा ४५ वर्षमाथिकालाई मात्र खोप लगाइन्थ्यो । प्रधानमन्त्री मोदीले धेरैभन्दा धेरै भारतीयलाई कमभन्दा कम समयमा खोप लगाउनका लागि आफ्नो सरकारले गएको एक वर्षदेखि काम गरिरहेको बताएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना खोप लगाउन सुरू गरिएको थियो । सुरूमा स्वास्थ्यकर्मी र अंग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप लगाइएको थियो । मार्च १ बाट सुरू भएको दोस्रो चरणमा ४५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालिएको थियो ।

भारतमा अहिले भारत बायोटेक र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको भ्याक्सिनलाई अनुमति दिइएको छ । भारत बायोटेकले आफैं भ्याक्सिन बनाएको हो भने सेरम अक्सफोर्ड÷अष्ट्राजेनेकाको भ्याक्सिन उत्पादन गरिरहेको छ । केही दिनअघि भारतले रूसले बनाएको स्पुतनिक–भी लाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ । नागरिकलाई खोप लगाउन प्रदेश सरकारले आफैं खोप किन्न सक्ने पनि निर्णय गरिएको छ । भारतीय खोप निर्माता कम्पनीहरूले आफ्नो उत्पादनको आधा खोप सरकारलाई दिनुपर्नेछ । -एजेन्सी