दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिन त्यहाँ २ लाख ४९ हजार जनामा कोरोना पुष्टि भएको थियो । योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७३ लाख ६ हजार पुगेको छ । यस्तै‚ मृत्यु हुनेको दर पनि दैनिक बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा २ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ लाख ९५ हजार नाघेको छ । भारतमा कोरोना महागरीको संकट गहिरिँदै गएपछि अमेरिकाले कोभिशिल्ड खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि सहमति दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै भारतमा गहिरिँदै गएको कोरोना संकट न्यूनीकरणका लागि सहयोग गर्न लागिएको जानकारी दिएका छन् ।
उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको यो संकटको बेला आफूहरू भारतको साथमा रहेको बताएकी छन् । ह्यारिसले ट्विटरमा लेखेकी छन्‚ ‘कोरोना महामारीको यो विस्फोटक समयमा अमेरिका भारत सरकारसँग मिलेर काम गरिरहेको छ । हामीले सहयोग गरिरहेका छौँ, भारतका लागि प्रार्थना गरिरहको छौँ, भारतका स्वास्थ्यकर्मीहरूलाई सम्मान छ ।’ पछिल्लो २४ घण्टामा विश्वभर ७ लाखभन्दा बढी संक्रमित थपिँदा साढे ९ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन् । -एजेन्सी