इटहरीः बढ्दो कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलि मध्यराति १२ बजेदेखि लागु  हुनेगरी देखि वैशाख २४ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेषप्रसाद ढाकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले वैशाख १७ देखि एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यकता अनुसार स्थानीय प्रशासनले निर्णय लिनसक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको हो । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

vigyapti1

निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन जोर बिजोर प्रणाली लागु गरिएको छ भने खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल भने सञ्चालन गर्न पाइने छ । विवाह व्रतबन्धको हकमा बढीमा २५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ । विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यकामा प्रवेश पाउने छैन ।

vigyapti2

सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनु पर्ने छ । यस्तै खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ । खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । नेपाल सरकारबाट खुला गरिएका अन्तर्राष्ट्रिय प्रवेश विन्दुहरुमध्ये यस जिल्लामा रहेको भण्टाबारी नाकाबाट विदेशी नागरिकको प्रवेश पूर्ण रुपले नियन्त्रण गर्ने र अन्य नाकाहरुमा आवतजावत गर्न निषेध गर्नेसमेत निर्णय भएको छ ।