इटहरीः ३ वटा ‘स्वीट रुम’ सहित ३० कोठा भएको होटल बरण्डा इटहरीको अत्याधुनिक सपिङ मल सेन्ट्रल प्लाजाको सबैभन्दा माथिल्ला ४ वटा तलामा अवस्थित छ ।

पछिल्लो समय इटहरीमा खुलेका होटलमध्ये सबैभन्दा बढी सुविधासम्पन्न होटल बनाउने प्रयासमा रहेको होटल व्यवस्थापन पक्षले एउटै होटलमा ३ वटा सम्म स्वीट रुम बनाउने काम जारी राखेको छ ।

अघिल्लो महिनादेखि सञ्चालनमा आएको सो होटल पूर्ण रूपमा भने सम्पन्न भइसकेको छैन । लगभग निर्माणको अन्तिम चरणमा रहेको होटलमा एकै पटकमा २ सय जना सम्म अट्ने सेमिनार रुम पनि तयार भइसकेको छ । गत हप्ता ४ विदेशी पाहुुना बसेर शुरुवात भएको होटलमा पाहुना बस्ने क्रम जारी छ । सञ्चालकको दाबीअनुसार होटलको मुख्य आकर्षण यहाँबाट देखिने सुन्दर दृश्य हो ।
दशौं तलासम्म रहेको मल इटहरीको सबैभन्दा अग्लो आधुनिक भवन हो । मुुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेको यो भवनबाट मौसम खुलेको बेला उत्तरी छिमेकी नगर धरान र दक्षिणी छिमेकी नगर विराटनगरसम्मका दृश्य प्रष्टसँग देखिन्छ ।

मलको छैटौंदेखि नवौं तलासम्म होटलको भाग रहेको छ । होटलमा सहज रुपमा जानका लागि लिफ्ट सिस्टम जडान गरिएको छ । होटलको रेष्टुरेन्टमा ३० जना र फ्रन्ट डेस्कको लबीमा ३० जना आरामसँग बस्न सक्ने व्यवस्था गरिएको छ ।

होटलको सेवा सुविधालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कोशिस भइरहेको होटल सञ्चालक तथा सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार होटलमा अहिले ३० जनाले रोजगारी पाएका छन् । होटलको पूर्ण सञ्चालन भएसँगै थप व्यक्तिलाई रोजगारी दिइने उनले जनाए ।