दुहबीः मोरङको बुढीगंगास्थित मुक्ति आश्रम केन्द्रलाई विराटनगर मधुमारा निवासी पूर्णबहादुर अधिकारी तथा उनकी श्रीमती गंगादेवी अधिकारीले १ लाख १ हजार सहयोग गरेका छन् ।

बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ र ४ को सिमानामा रहेको सिँगिया खोला छेउमा अवस्थित सो आश्रम केन्द्र संरक्षणको पर्खाइमा रहेको छ । शुक्रबार एक कार्यक्रमका बीच अधिकारी दम्पत्तिले आश्रम केन्द्रलाई चेक हस्तान्तरण गरेका हुन् ।

आफ्नो संस्थाको आवश्यकतालाई बुझी सहयोगी र शुभचिन्तक हुनुभएको भन्दै आश्रम केन्द्रका अध्यक्ष चन्द्रशेखर न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । संरक्षण र प्रचारप्रसारको अभावमा मोरङको एक पर्यटकीय स्थलको सम्भावना बोकेको मुक्ति आश्रम केन्द्र ओझेलमा परेको छ । स्थानीय स्तरमा सहयोग जुटाई निर्माण गरिएको आश्रमको संरक्षण र प्रचारप्रसारका लागि बुढीगंगा गाउँपालिकाले रचनात्मक काम गर्नुपर्ने स्थानीयको भनाइ छ । यस क्षेत्रको गौरवको रूपमा रहेको केन्द्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा स्थानीयको जोड छ ।

धार्मिक महत्वको मुक्ति आश्रम केन्द्र करिब अढाइ बिघा क्षेत्रफलमा फैलिएको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा मुक्ति आश्रम केन्द्र धार्मिक पर्यटकीय स्थल बन्न सक्ने स्थानीय बासिन्दा बताउँछन् ।
लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको केन्द्रलाई अब आधुनिक तरिकाले चौतर्फी विकास गर्न सकेमा उपयुक्त हुने स्थानीयको भनाइ छ ।

अध्यक्ष न्यौपानेले २ तले पक्की भवन र चारैतिर तारजाली लगार्ई वृक्षारोपण गरी व्यवस्थित गरिएको बताए । आश्रम केन्द्रको दक्षिणतर्फ नेट र पानीट्याङ्कीसहितको दाहसंस्कार गर्ने वेदी, मध्यक्षेत्रमा श्मसानेश्वर महादेवको २० मिटरको मन्दिर रहेको छ । त्यस्तै, किरियापुत्री बस्ने घर, श्रद्धाश्रम (ज्येष्ठ नागरिक गृह) स्नेहाश्रम (बालआश्रम) गुरुकुलीय शिक्षाका लागि विद्यालय लगायतको गुरुयोजना रहेको उनले बताए ।

आश्रम केन्द्रको संरक्षण र विकासका लागि विभिन्न निकायले थुप्रै अभ्यास सञ्चालन गर्नुपर्ने देखिन्छ । आश्रम केन्द्रमा तत्कालै बुढीगंगा गाउँपालिकाले व्यवस्थित बाटो र तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ ।

mukti asram budhi ganga  (2)