बेलबारीः सङ्घीय सरकारका कानुन, न्याय तथा सङ्घीय मामिला मन्त्री भानुभक्त ढकालले बेलबारीमा रहेको रमिते पर्यटकीय क्षेत्रमा बन्न लागेको सुरुङ मार्गसहितको रमिते भ्यु टावर निर्माण स्थलको अवलोकन भ्रमण गरेर जानकारी लिएका छन् ।

बेलबारी–२ लालभित्तीमा रहेको रमिते सामुदायिक वन क्षेत्रमा बन्न लागेको सो भ्यु टावरको निर्माण कार्य बजेट अभावमा रोकिने अवस्थामा पुगेको थियो । अवलोकनपछि प्रदेश र स्थानीय सरकारले सहयोग भ्यु टावर निर्माणमा सहयोग गर्ने आश्वासन मन्त्री ढकालले दिएका छन् ।

ढकाल सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य हुन् । ढकाललाई पर्यटकीय क्षेत्र विकास निर्माण उपभोक्ता समितिका सचिव राजु परियारले परियोजनाका बारेमा व्रिफिङ गरेका थिए । ब्रिफिङपछि मन्त्री ढकालले रमिते पर्यटकीय क्षेत्रको विकासमा आफू कटिबद्ध रहेको बताए ।

रमिते पर्यटकीय क्षेत्र विकासको परियोजनालाई पूर्वकै बहुचर्चित परियोजनाका रुपमा लिइएको छ । यसअघि नै रमितेको डिपिआर समेत तयार भएर सोही अनुसार काम भइरहेको रमिते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर राईले बताए ।

सो भ्रमण टोलीमा प्रदेशसभा सांसद राजकुमार ओझा, बेलबारी नगरपालिकाकी उपप्रमसख ढाकाकुमारी पराजुली, वडाध्यक्ष घनश्याम गौतम लगायतको सहभागिता रहेको थियो ।

मन्त्री ढकालले लोहन्द्रामा बन्दै गरेको लोहन्द्रा कुसुमे तटबन्धको पनि निरीक्षण गरेका थिए ।

ramitee