इटहरीः नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, प्रदेश १ ले प्रदेशका विभिन्न ठाउँका कोरोना संक्रमितलाई निःशुल्क औषधि वितरण गरेको छ ।
संघले प्रदेश १ को सुनसरीको वराहक्षेत्र नगरपालिकाको आइसोलेसनमा रहेका १२ जना कोरोना संक्रमितसँगै त्यहाँ रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत औषधि संग आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । यस्तै उदयपुर जिल्लाको बेलका नगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत २० जना स्वास्थ्यकर्मीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गरेको संघले जानकारी दिएको छ ।
सप्तकोसी नदीको पुलमा रहेको सुरक्षा चेक पोस्टका सुरक्षाकर्मी र धनकुटाको भेडेटार चेकपास्टमा कार्यरत सुनरक्षाकर्मीलाई मास्क, स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गरेको छ । यो अभियान निरन्तर जारी रहने जानकारी गराउँदै अन्य व्यवसायीलाई पनि अभियानमा जोडिन संघले अनुरोध गरेको छ । संघले प्रदेश १ का सम्पूर्ण जिल्लामा रहेको कोरोना संक्रमितलाई कोरोना संक्रमणसँग जुध्न सहयोग गर्ने औषधि वितरण गर्ने अभियान गत आइतबारदेखि सुरु गरेको हो ।