इटहरीः दक्षिणी भोजपुरको पात्लेपानीमा स्थानीय सरकार बनेपछि जिल्लाकै ऐतिहासिक साहित्य महोत्सव सम्पन्न भएको छ ।

यही कात्तिक १६ र १७ गते लागेको साहित्य महोत्सवमा पूर्व प्राज्ञ तथा चर्चित नेपाली कवि श्रवण मुकारुङ तथा नेपाली भाषा साहित्यका चर्चित व्यक्तित्व प्राध्यापक डाक्टर टङ्क न्यौपानेलगायत थुप्रै साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

स्थानीय बाजागाजा र झाँकीसहितको साहित्य ¥याली निकालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । भोजपुरका रेडियो भोजपुर र चोमोलोङ्मा २ वटा एफएमबाट साहित्य उत्सवको प्रत्यक्ष प्रशारण भएको थियो । साहित्य महोत्सवमा कविता, प्यानल डिस्कसन, गजल वाचन, पुस्तक लोकार्पण लगायतका थुप्रै कार्यक्रम समेटिएको थियो ।

कार्यक्रममा पाँचथरदेखि ओखलढुङ्गा अनि उदयपुरदेखि झापासम्मका थुप्रै जिल्लाका सर्जक, स्रष्टा तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । २ दिने आवासीय साहित्यिक कार्यक्रमको लागि साहित्यकारहरू चतरादेखि भोजपुरको हलेदेसम्म जेटबोटमा जलयात्रा गर्दै पुगेका थिए ।

hatuwaagadhi (1)

पात्लेपानी कला, साहित्य प्रतिष्ठानको मुख्य आयोजनामा भएको सो कार्यक्रमलाई स्थानीय सरकारबाट पनि सहयोग भएको प्रतिष्ठानकी अध्यक्ष प्रगति राईले बताइन् । आगामी दिनमा भोजपुरको कला, साहित्य र रङ्गमञ्चकोे उत्थानमा आफ्नो संस्था लागिपर्ने पनि राईले बताइन् ।

पहिलो दिनको कार्यक्रम अवधिभर बसेका थिए हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि प्रेमकुमार राई र उपाध्यक्ष चन्द्रमा राई । गाउँपालिकामा भएको यस्ता कार्यक्रमले गाउँपालिकाको साहित्य तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने अध्यक्ष राईले बताए । उनले भने, ‘हतुवागढीको साहित्य, समाचारदेखि सामाजिक सञ्जालसम्म आफ्नो अनुभव लेखिदिनुहोला । यसले यहाँको साहित्य र पर्यटनमा विकास हुन्छ ।’