इटहरीः तिहारअघिको अन्तिम कारोबारको दिन गत मङ्गलबार नेपाली सेयरबजारमा अनलाइन प्रणाली शुरु भएदेखि सेयर बजारमा रातो पोतिएको छ । पहिलो दिनको कारोबार लगानीकर्ता र ब्रोकरले पनि हेर्न पाएनन् । आइतबार मात्रै सो दिनको कारोबार नेप्सेले सार्वजनिक गर्याे । सो दिन जम्मा ९६ वटा कम्पनीको ५ सय ७४ पटक मात्रै कारोबार भएको छ । कारोबार रकम ज्यादै न्यून जम्मा करोड ३५ लाख ३२ हजार २ सय १८ रुपैयाँको भएको छ । जम्मा १ लाख १७ हजार ५ सय ९८ कित्ता सेयर सो दिन कारोबार भएका थिए ।

तिहारपछि पनि उही हालत
तिहारपछि आइतबार खुलेको पहिलो दिनको सेयर बजारमा पनि दिनभर लगानीकर्ताले ताजा अपडेट हेर्न पाएनन् । बजार बन्द हुने समयमा मात्रै लगानीकर्ताले अपडेट हेर्न पाए । यसमा सुधार आउन अझै केही दिन लाग्ने नेप्सेले जनाएको छ जसका कारण बजार अझै तल झर्न सक्ने अनुमान गरिएको छ ।

आइतबार १० करोड हाराहारीको कारोबार
आइतबार १ सय २५ कम्पनीको सेयर कारोबार हुँदा ९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँको कारोबार भएको छ । ३ लाख १४ हजार २ सय ९७ कित्ता सेयर १ हजार ४ सय ६५ पटक कारोबार भएको छ । आइतबार बजार १७ दशमलव ३१ अङ्कले घटेर १२०५ दशमलव २२ अङ्कमा आइपुगेको छ । समग्रमा बजार १ दशमलव ४२ प्रतिशतले तल झरेको हो ।

९ समूहको कारोबार, २ सूचकमा हरियाली
नेप्सेमा सूचीकृत ११ वटा समूहमध्ये कहिलेकाहीं सबै समूहको र प्रायः १० वटा समूहको कारोबार हुने गथ्र्याे । तर आइतबार भने ९ वटा समूहको मात्रै कारोबार भएको छ । कारोबार भएका ९ सूचकमध्ये फाइनान्स र अन्य समूहको सूचकमा सुधार भएको छ । सबैभन्दा धेरै बैंकिङ समूह २ दशमलव ३२ प्रतिशतले तल झर्दा जलविद्युत समूहमा १ दशमलव ०२ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा कम होटल समूहको सूचक ० दशमलव १९ प्रतिशतले ओरालो लागेको छ ।

कारोबारमा प्रभु बैंक अघि
धेरै दिनदेखि कारोबार रकममा प्रभु बैंक अगाडि आउने क्रम आइतबार पनि जारी रह्यो । प्रभुको ८८ लाख ४ हजार ६ सय ६५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र एनआइसी एसिया बैंक परेका छन् । नेपाल बैंकको ८२ लाख १६ हजार १ सय ९५ रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै एनआइसी एसियाको ७९ लाख ५८ हजार ५ सय १३ रुपैयाँको सेयर कारोबार भएको छ ।

कमाउनेमा स्वदेशी लघुवित्तका लगानीकर्ता
आइतबार स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ दशमलव १५ प्रतिशतले र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २ दशमलव ५५ प्रतिशतले सम्पत्ति कमाएका छन् । जम्मा १९ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।

मूल्य घट्नेमा अपि पावर
घट्दो बजारमा सबैभन्दा धेरै अपि पावर लिमिटेडको सेयरमूल्य घटेको छ । सो कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले सम्पत्ति गुमाएका छन् । नगद लाभांशमात्रै घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशत तथा नेपाल सेवा लघुवित्तको सेयर मूल्य ४ दशमलव ८९ प्रतिशतले घटेको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ४२ अर्ब कायम भएको छ ।