विराटनगरः विराटनगरको दूधफारममा बन्ने भ्यु टावरले विमानस्थलमा हुने उडान र अवतरणमा समस्या पर्ने विमानस्थलले जनाएको छ ।

गत कात्तिक १८गते सो भ्यु टावरको शिलान्यास भएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कात्तिक १८ गते शिलान्यास गरेको भ्यु टावर विमानस्थलको एयरदुरीभित्र पर्ने बताइएको छ ।

सो भ्यु टावर गलत इन्जिनियरिङ र गलत मनशायसहित शुरु गरिएको र यसले एयर ट्राफिकिङलाई असर पार्ने बताइएको छ । महानगरको योजनामा बन्ने भ्यु टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्दछ । विमानस्थलको एयर दूरीभित्र पर्ने भएकाले जहाज अवतरणमा असजिलो हुने यो क्षेत्र विमानस्थलको उत्तर–पूर्वी भागमा पर्दछ । जहाज उडाउन र अवतरण गराउन यो दिशा महत्वपूर्ण मानिन्छ ।

साना भन्दा पनि ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयर दूरीलाई यसले समस्या पार्ने विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाको भनाइ छ । ठूला जहाज अवतरणमा आवश्यक एयर दूरीभित्र पर्ने यो भ्यु टावर निर्माणको विषयमा महानगरले प्राधिकरणले गरेको पत्राचारलाई समेत बेवास्ता गरेको प्रमुख सिटौला दाबी गर्दछन् ।
ठूला जहाजले ४–५ नटिकल (१ नटिकल माइलमा १ हजार ८ सय ५० मिटर हुन्छ) माइलमा धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछ । जब भ्यु टावर बन्ने स्थान र विमानस्थलको दूरी १ किलोमिटर भित्रै पर्दछ ।

मापदण्डविपरीत १ सय १० मिटर अग्लो संरचना बनाउने तयारी
एयर ट्राफिकिङको समस्याको बारेमा नागरिक उड्डयन कार्यालयले जानकारी गराउँदा समेत महानगरले भने १ सय १० मिटर उचाइको संरचना बनाउन शिलान्यास गरेको हो । विमानस्थलको पेरीफेरीमा ४५ मिटरभन्दा अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधानलाई मिचेर महानगरका प्रमुख तथा त्यहाँका इन्जिनियर समेतले गलत मनसायमा भ्यु टावर निर्माणको काम बढाउने तयारी थालेका हुन् । विमानस्थलको क्षेत्रभित्र निर्माण हुन लागेको भ्यु टावरको काम तत्काल रोकिनुपर्ने मागसहित कार्यालयले महानगरपालिकालाई पत्राचार समेत गरिसकेको छ । तर, महानगरले त्यसको जवाफ भने दिएको छैन ।

विमानस्थल बिस्तार तथा स्तरोन्नतिको तयारीमा रहेका बेला महानगरपालिकाले बनाउने भनिएको भ्यु टावर चुनौतीको रूपमा थपिएको हो ।

अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल बिस्तारको गुरुयोजना तयार पारिरहेको समयमा महानगरपालिकाले भने त्यही पेरिफेरीमा भ्यु टावरको शिलान्यास गरेपछि नागरिक उड्ययन प्राधिकरणलाई अप्ठ्यारो परेको प्रमुख सिटौला बताउँछन् । महानगरले भ्यु टावर बनाउने भनेर विमानस्थल प्रशासनलाई जानकारी दिँदै असर गर्ने या नगर्ने भनी सोधेको समेत थियो । विमानस्थलले एयर ट्राफिकमा असर पुग्ने भएको जानकारी कार्यालयले दिए पनि महानगरले भने आसपासको क्षेत्रमा भ्यु टावर निर्माणको लागि शिलान्यास गरेर काम थालिएको बताउँदै आएको छ । विमानस्थल नजिकै रहेको यो क्षेत्रमा विमान अवतरण हुँदै नजिकै आइसकेको हुन्छ । त्यसकारण यो टावर बने विमानस्थलमा जहाज अवतरण गर्नै सकिँदैन ।

‘पूर्व–सम्भाव्यता र यकिन सम्भाव्यता अध्ययनसहित गुरुयोजना बन्ने प्रक्रियामा रहेको विमानस्थलका लागि महानगरले नै भ्यु टावर निर्माण गर्न लागेको विषयसमेत थप चुनौती हुने देखिएको छ,’ प्रमुख सिटौलाले भने, ‘कानुन र मापदण्डविपरीत बन्ने संरचना कुन तरिकाले शिलान्यास गरियो ?’ महानगरका प्रमुख पराजुलीले भने, आफूले विमानस्थललाई असर पर्ने या नपर्ने भनी पहिले नै बुझेको बताउँदै असर नगर्ने बताएका छन् ।