गर्दिन कुरा, म तिम्रो क्यामेराको।
हो जोसेफ नियसी ! गर्दिन कुरा म तिम्रो क्यामेराको,
र तिमीले बनाएको क्यामेराको,
जुन बिल्कुल फजुल छ,
जुन बिल्कुल झुठ छ।
मेरो आविष्कार तिम्रोभन्दा फरक छ,
र धेरै बेहत्तर पनि छ,
म कुरा गर्छु सधैं हृदयरुपी क्यामेराको,
जुन हुन्छ, तिम्रो भन्दा अथाह मेगापिक्सलको।
तिम्रो क्यामरा बिल्कुल भौतिक छ,
र तिम्रो क्यामेराले खिच्न सक्छ केवल,
भौतिक आकार-प्रकार र दृश्यहरु।
तर , तर खिच्दैन यसले,
हृदयाकाशका ताराहरु,
जुन जगमग - जगमग गर्दै युगौंदेखि विराजमान छन्।
अनि खिच्न सक्दैन दुःख ,पीडा र वेदनाहरु,
जुन हृदयका जिजिवीषामा गुज्रदैंछन् ।
तिम्रो बाहिरी क्यामेराले परि परिका तनहरु खिच्ला,
थरी थरीका परिधानहरु खिच्ला,
तर सक्दैन खिच्न मन,
अनि मनभित्रका अवयवहरु,
अनि मनको चूल्होमा पाकेका हृदयको कसौंडीका खिचडीहरु ।
बाह्य हावभाव र कटाक्षलाई कैद गर्ला तिम्रो क्यामराले,
खेत,खोला र खलियानलाई समेट्ला,
अस्तित्वमा मौजुद भौतिक उपलब्धताहरुलाई चित्रमा परिणत गर्ला,
तर सक्दैन, तर सक्दैन कहिल्यै,
हृदयरुपी भवसागरमा गोता खाईरहेका विचारका तरंगलाई खिच्न।
त्यस्तै सक्दैन खिच्न आततायीको क्रुरतालाई,
धुर्त्याइं र कुटिलतालाई,
क्रूरताको शिकार भएकाहरुको आर्तनादलाई,
साँचो र झुठ अनि न्याय र अन्याय पर्गेल्नलाई,
विवेक र अविवेक छुट्याउनलाई, अनि स्वार्थका ईन्द्रेणीको रंगहरुलाई चिन्न ।
तिम्रो क्यामेराभन्दा हेर त कति फरक छ,
मेरो मनको क्यामेरा ?
यसैले त मनको क्यामेरा मसँग छ ।
पुनश्च: जोसेफ नियसी क्यामेराका आविष्कारक हुन् ।
इनरुवा-६