इटहरीः एभोकार्डो फल अहिले धेरै चर्चामा छ । धनकुटाले एभोकार्डो महोत्सव गर्न लागेबाट यसको चर्चा झनै चुलिएको छ । सामान्य फलजस्तै खानबाहेक सलादको रूपमा, आइक्रिम बनाएर, जुस बनाएर र अन्य विभिन्न तरिकाले प्रयोग गर्न मिल्ने एभोकार्डोका थुप्रै फाइदा छन् । कतिपयले यसलाई फलहरूको राजा पनि भन्न थालेका छन् ।

विश्वको प्रख्यात हेल्थलाइट डटकममा क्रिस गुनार्सले एभोकार्डोका विभिन्न फाइदाका बारेमा लेखेका छन् ।

यी हुन एभोकार्डोका ७ मुख्य फाइदा
१. यो फल अत्यन्तै पोसिलो हुन्छ । एभोकार्डोमा अत्यन्तै धेरै भिटामिन हुन्छ । भिटामिन सी, भिटामिन ई, भिटामिन के, भिटामिन बी फाइभ, भिटामिन बी सिक्स पाइन्छ । पोटासियम पनि यसमा प्रशस्तै हुन्छ । यसमा १ सय ६० क्यालोरी, २ ग्राम प्रोटिन र १५ ग्राम फ्याट र फाइभर हुन्छ ।
२. केरामा भन्दा धेरै पोटासियम भएको फल हो यो । स्वस्थ ब्लड प्रेसरको लागि आवश्यक पोटासियमको मात्रा हुन्छ एभोकार्डोमा । केरामा पाइने भन्दा धेरै मात्रामा पोटासियम यसमा हुन्छ ।
३. मुटुमैत्री फ्याटी एसिड हुन्छ एभोकार्डोमा । यसमा मोनोअनस्याचुरेटेड ओलिक एसिड हुन्छ । ओलाइभ तेलमा जस्तै यो एसिडले मुटुलाई फाइदा हुन्छ ।
४. फाइभरयुक्त फल एभोकार्डोको ७ प्रतिशत फाइभर हुन्छ । यसले तौल घटाउन र मेटाबोलिक स्वास्थ्यमा सहज पार्ने चिकित्सक बताउँछन् ।
५. एभोकार्डोले कोलेस्ट्रोलको लेभल घटाउँछ ।
६. आँखाको ज्योति बलियो बनाउँछ । एभोकार्डोमा एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ ।
७. एभोकार्डोले क्यान्सर रोकथाम गर्छ । केही टेस्टट्युब जाँचले एभोकार्डोले प्रोस्टेट क्यान्सरको असर कम गर्छ भनेका छन् । यसले क्यान्सरको केमो थेरापीका साइड इफेक्टलाई पनि कम गर्ने बताइन्छ ।

धेरै एभोकार्डो उत्पादन गर्ने ५ देशः
संसारमा सबैभन्दा धेरै एभोकार्डो उत्पादन गर्ने देशमा मेक्सिको पर्छ । वार्षिक उत्पादनको आधारमा तय गरिएको यो शीर्ष पाँच सूचीमा एसियाबाट इन्डोनेशिया पर्छ । वल्डएटलस डटकमका अनुसार सन् २०१४ को आँकडाका आधारमा एभोकार्डो उत्पादन गर्ने विश्वका प्रमुख पाँच मुलुक यी हुन्ः
१. मेक्सिको ः १५ लाख, २० हजार टन
२. डोमिनिकन रिपब्लिकः ४ लाख, २० हजार टन
३. पेरुः ३ लाख, ५० हजार टन
४. इन्डोनेसियाः ३ लाख १० हजार टन
५. कोलम्बियाः २ लाख ८० हजार टन