धनकुटाः एशियामै पहिलो पटक धनकुटामा एभोकाडो महोत्सव शुरु भएको छ । सो महोत्सवको सङ्घीय प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले उद्घाटन गरे ।
महोत्सव उद्घाटनसँगै राईले एभोकाडोको प्रतिमा पनि अनावरण गरेका छन् । धनकुटा नगरपालिकाको वडा नम्बर ६ परिचयम मोडमा जिल्ला प्रहरी कार्यालयको अगाडिको पार्कमा प्रतिमा राखिएको छ । प्रतिमा उद्घाटनपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सो पार्कलाई फ्रि वाइफाइ जोनको घोषणा गरेका छन् । मेयर तामाङले वाइफाइको स्वीच अन गरी फ्रि वाइफाइ जोनको घोषणा गरेका थिए । १ सातापछि सर्वसाधारणका लागि पार्क खुला गरिने बताइएको छ ।
एभोकाडो घोषणापत्र जारी
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले नगरलाई एभोकाडोको राजधानी बनाउने गरी काम भइरहेको बताए ।
धनकुटा नगरपालिकाले मेयर कृषि पर्यटन कार्यक्रममार्फत् २०७५ बैशाखदेखि एभोकाडोको बारेमा विस्तृत अध्ययन गरेको राईले बताए । ‘हामीले १० वटै वडामा एभोकाडो लगाइएको र लगाउन सकिने क्षेत्रको विस्तृत अध्ययन गरेका थियौं’, अधिकृत राईले एभोकाडो घोषणापत्र वाचन गर्दै भने, ‘त्यस क्रममा १ हजार ९ सय ६२ परिवारले एभोकाडोबाट आम्दानी लिइरहेको पायौं । त्यस्तै, ३ हजार ७ सय ६४ बोटले फल दिइरहेको र ८ हजार ५ सय ९४ बोटमा फल्न लागेको थाहा पायौं ।’
अध्ययनका क्रममा नगरभित्र १४ हजार एभोकाडोको बिरुवा रोपिएको र वार्षिक ८० हजार किलो फल उत्पादन भएको निष्कर्ष निकालिएको राईले बताए । राईका अनुसार २ हजार ६ सय रोपनीमा एभोकाडो खेती गरिएको छ । आगामी ५ वर्षपछि प्रत्येक वर्ष एभोकाडोबाट मात्रै ७ करोडभन्दा बढी आम्दानी नगरले गर्ने अनुमान गरिएको पनि उनले एभोकाडो घोषणापत्र वाचन गर्ने क्रममा बताए ।
धनकुटामा बढी एभोकाडो फल्ने गरेको आधारमा एभोकाडोको राजधानी घोषणा गरिनुपर्छ भनेर सिफारिश गरिएको उनले बताए ।