विराटनगर/ सबैका आ–आफ्नै इच्छा र सपना हुन्छन् । कसैले पूरा गर्छन्, कसैले प्रयास नै नगरी बाटो मोड्छन् ।

मोरङको जहदा – २ का २८ वर्षीय तुलसी कलाकार आँखामा पट्टी बाँधेर मूर्ति बनाउने र गिनिज बुकमा नाम लेखाउने प्रयासमा जुटेका छन् ।

आँखा खोलेरै पनि मूर्ति बनाउनु सबैको वशको कुरा होइन । तर तुलसी भने आँखामा पट्टी बाँधेर पनि सुन्दर मूर्ति बनाउन सक्छन् । ७ वर्षको उमेरदेखि मूर्ति बनाउन शुरु गरेका उनी विगत २ वर्षदेखि विभिन्न ठाउँमा मूर्ति बनाउँदै हिँडिरहेका छन् ।

जहदा–१ स्थित दुर्गा माविका शिक्षक समेत रहेका तुलसीको गिनिज बुकमा नाम लेखाउने ठूलो सपना छ । उनले यसै कारण आफ्नो थर समेत मण्डलबाट फेरेर कलाकार राखे । कलाकारिताबाटै आप्mनो पहिचान बनोस् भन्ने उनको चाहना छ । ‘आफूलाई सबैले चिनून् भन्ने सपना जोसुकैले राख्छ’ उनले भने, ‘म पनि त्यही सपना पूरा गर्न लागि परेको हुँ ।’

तुलसी आँखामा पट्टी बाँधेर ५० मिनेटमै एउटा मूर्ति बनाउन सक्छन् । उनी भन्छन्, ‘मूर्तिको आकार अनुसार समय कम–बेसी लाग्छ, तर आँखा बन्द गरेरै बनाउन सक्छु ।’

उनले सिमेन्ट, धातु, माटो, मार्बलको धुलो लगायतका धेरै मूर्ति बनाइसकेका छन् । भारतमा पनि मूर्ति बनाउने प्रोजेक्टमा आफूले काम गरिसकेको अनुभव उनले सुनाए । धेरै अभ्यास र मिहिनेतपछि मात्रै आँखा छोपेर मूर्ति बनाउन सक्ने भएको उनले बताए । ‘अभ्यासका क्रममा घरको धेरै काम लथालिङ्ग पारेँ’, उनी भन्छन्, ‘तर, मिहिनेत गर्न छोडेको छैन ।’

तुलसीका पिता झल्लु मण्डल मूर्ति बनाउन पारङ्गत थिए । गाउँ–टोलमा कुनै धार्मिक कार्यक्रम हुँदा मूर्ति बनाउन झल्लुकै खोजी हुन्थ्यो । पिताको कालाकारिताले सानै देखि आफूलाई मन छोएको तुलसी बताउँछन् ।

‘कलाकारिताबाटै केही गर्नुपर्छ भन्ने सोच सानैमा आयो । तर, परिवारको इच्छा र आवश्यकताले सोचअनुसार काम गर्न सकिएन’ उनले भने, ‘अझै हरेश खाएको छैन ।’

वृद्ध पिता, श्रीमती र छोराप्रतिको जिम्मेवारी पूरा गरेर आफ्नो सपना पूरा गर्ने कार्यमा आफू लागि परेको उनले बताए ।

kalakar news (1) kalakar news (3)