इटहरीः आज बिहान साढे ७ बजे विराटनगरबाट माउन्टेन फ्लाइट गरेपछि कवि मनु मञ्जिल धेरै उत्साहित देखिए । आफ्नो पहिलो माउन्टेन फ्लाइट आफ्नै प्रदेशबाट गरेका कवि मञ्जिलले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मकालु जस्ता विश्वका अग्ला शिखर नजिकैबाट नियाले । उनले आफू बसेकै सिटको झ्यालबाट मात्रै हिमाल हेरेनन् ककपिट भनिने पाइलटहरू बस्ने स्थानबाट पनि हिमाल हेरे ।
यति एयरलाइन्सको जहाजबाट १ घण्टाको रोमाञ्चक माउन्टेन फ्लाइटपछि विराटनगर एयरपोर्टमा ओर्लिए कवि मञ्जिल र भने, ‘मलाई त भगवानको दर्शन गरेर आएजस्तो लाग्यो ।’
नेपालीले माउन्टेन फ्लाइट गुमाए भने उसले धेरै कुरा गुमाउने बताउँदै कवि मञ्जिलले भने, ‘जब सगरमाथा र मकालुलाई ककपिटमा बसेर अगाडि देख्यौँ नि धेरै उपलब्धि पाएजस्तै लाग्यो ।’ पहिलेपहिले विदेशीहरूले गरेका माउन्टेन फ्लाइटका कथा पढ्नुपरेको बताउँदै मञ्जिलले अब माउन्टेन फ्लाइटको अनुभव आफ्नै प्रदेशबाट गर्न पाउँदा खुशी लागेको बताए ।
कवि मनु मञ्जिलसँगै माउन्टेन फ्लाइटमा रहेका कविहरू बद्री भिखारी र प्रदीप मेन्याङ्बोले पनि जीवनमा पहिलो पटक गरेको माउन्टेन फ्लाइट आनन्ददायक भएको बताए । लामो यात्राको छोटो प्रतिक्रिया दिँदै कवि भिखारीले भने, ‘त्यो शब्दमा व्यक्त गर्ने ठाउँ छैन । त्यस्तो आयो आनन्द ।’
मुन्धुमको विषयमा कविता लेखेका परिचित कवि तथा पत्रकार प्रदीप मेन्याङ्बोले पनि पहिलो माउन्टेन फ्लाइट धेरै रोचक भएको बताए । माउन्टेन फ्लाइट गर्न भनी धरानबाट विराटनगर एयरपोर्ट पुगेका मेन्याङ्बोले सगरमाथा, मकालुजस्तै कञ्चनजङ्घा र कुम्भकर्णको पनि निक्कै नजिकबाट माउन्टेन फ्लाइट भए झनै राम्रो हुने बताए ।
धरानका पत्रकार योगेश काफ्ले र इटहरीका पर्यटन पत्रकार विराट अनुपमसँगै माउन्टेन फ्लाइट गर्न विराटनगर पुगेका मेन्याङ्बोले भने, ‘पूर्वको पर्यटन र आर्थिक उपार्जनमा माउण्टेन फ्लाइटले धेरै सहयोग गर्नेछ ।’