बेलबारीः बेलबारी–२ मा रहेको रमिते सामुदायिक वन पिकनिक स्पटका रूपमा बिस्तार हुन थालेको छ । सुरुङ मार्गसहितको भ्यु टावर निर्माणले तीव्रता पाइरहेका बेला घरायसी उत्पादित वस्तुका कारण पिकनिक स्पटका रूपमा बिस्तार हुन थालेको हो ।

अहिले दैनिक पिकनिक खानेको सङ्ख्या बढ्दै जान थालेको छ । पर्यटकलाई आकर्षित गर्नका लागि वन समितिले बासको चोयाको डोको राखेर आकर्षण बढाइरहेको छ । डोकोलाई रङ लगाएर चिटिक्क समेत बनाइएको छ ।

फोहोर सङ्कलन गर्नका लागि सो क्षेत्रमा चोयाका डोकाहरू राखिएका छन् । डस्बिनको रूपमा रुखमा समेत डोकाहरु राखिएका छन् । विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले फोहोर सङ्कलन गर्नका लागि प्लाष्टिकबाट बनेका डस्बिन वितरण गरिरहेको बेला सो वनले भने आप्mनै कच्चा पदार्थबाट निर्मित डोकाहरू डस्बिनको रूपमा राखेको छ ।

आफ्नै क्षेत्रमा भएका कच्चा पदार्थको सदुपयोग गर्ने उद्देश्यका साथ डोकाको डस्बिन बनाएको रमिते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम राईले बताए । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि काठका टहरा समेत निर्माण गरिएको उनले बताए ।

यसै वर्षदेखि पिकनिक स्पटका रूपमा बिस्तार गरिएको सो क्षेत्रमा दैनिक २ वटासम्म समूह आउने गरेको अध्यक्ष राईले बताए । ‘शनिबार ठाउँ अपुग हुन्छ,’ राईले भने, ‘मिलेर खानुहोस् भन्नुपर्छ ।’ बेलबारीबाट आउने टोलीलाई २ सय ५० र बाहिरबाट आउनेलाई ५ सय रुपैयाँ पिकनिक स्पटको शुल्क लिने गरेको समितिले जनाएको छ ।

सो समितिले सिमसारको नगरका रूपमा चिनिएको बेलबारीको रमिते डाँडामा बन्न थालेको भ्यु टावरले चहलपहल बढाउने विश्वास लिएको छ । त्यहाँ ४ सय मिटर लामो सुरुङमार्ग सहितको भ्यु टावर बनिरहेको छ । भ्यु टावर वरपर रहेको जग्गामा बगैंचा बनाउने तथा पोखरी बनाएर बोट सञ्चालन गरिने बताइएको छ ।

doko 1 ra rameti