इटहरीः मंसिर ८ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री इन्द्र आङ्बो, पर्यटनमन्त्री जगदीश कुसियतलगायत अन्य व्याक्तिहरू उडेर विराटनगरको पहिलो नियतिम व्यावसायिक माउन्टेन फ्लाइट शुरु भयो । मंसिर १५ गते दोस्रो उडान भयो । २२ हजार फिट माथिबाट हुने माउन्टेन फ्लाइटका दुवै उडानमा कुनै सिट खाली थिएनन् ।

हरेक यात्रुलाई झ्यालको सिट र पाइलट बस्ने स्थान ककपिटबाट पनि हेर्न दिइने विराटनगरको माउन्टेन फ्लाइटलाई धेरैले रुचाएका छन् । धरान, इटहरी, विराटनगर र अन्य शहरका स्थानीयहरू माउन्टेन फ्लाइट गर्न हौसिएका छन् । सामाजिक सञ्जालमा पनि यसको चर्चा चुलिएको देखिन्छ ।

विराटनगरको माउन्टेन फ्लाइटको नेतृत्व विराट होलिडेजका अध्यक्ष भविष श्रेष्ठ र विराट असोसिएसन अफ ट्राभल एजेन्सीका अध्यक्ष फणिन्द्र अधिकारी लगायतका १० जना व्यवसायीहरूले गर्दै आएका छन् ।
यो माउन्टेन फ्लाइटका बारेमा धेरै कुराहरू थाहा नहुन सक्छ । यी हुन् विराटनगर एयरपोर्टबाट हुने माउन्टेन फ्लाइटका ५ तथ्यहरूः

१. देशको तेस्रो र मोफसलको दोस्रो स्थानको माउन्टेन फ्लाइट
विराटनगर एयरपोर्टमा हरेक साता हुने माउन्टेन फ्लाइट नेपालको माउन्टेन फ्लाइट हुने तेस्रो लोकेसन हो । सङ्घीय राजधानी काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखराबाट यस अगाडि नै माउन्टेन फ्लाइट हुँदै आएका छन् ।

२. प्रदेश १ मा उडानका हिसाबमा दोस्रो र व्यावसायिक निरन्तरताको हिसाबमा पहिलो उडान
विराटनगरको माउन्टेन फ्लाइट उडान इतिहाँसका आधारमा दोस्रो हो । यस अगाडि २०७३ साल फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोमा पनि माउन्टेन फ्लाइट भएको थियो । तर, त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले गरिएको माउन्टेन फ्लाइट भने हरेक शनिबार भइरहेको छ ।

३. नेपालको सबैभन्दा बिस्तृत माउन्टेन फ्लाइट
काठमाडौ र पोखराबाट गरिने माउन्टेन फ्लाइट भन्दा प्रदेश १ को माउन्टेन फ्लाइट विस्तृत हो । अन्य माउन्टेन फ्लाइट सगरमाथासम्म मात्रै आउँछन् । तर, प्रदेश १ मा रहेका विश्वका सबै अग्ला चुचुरा देखाउँछ प्रदेश १ को माउन्टेन फ्लाइटले । सर्वोच्च शिखर सगरमाथासहित अन्तबाट नदेखाइने विश्वको तेस्रो शिखर कञ्चनजङ्घा, चौथो ल्होत्से, पाँचौ मकालु, चोयु र अन्य अग्ला चुचुरालाई प्रदेश १ को माउन्टेन फ्लाइटले मात्रै देखाउँछ ।

४. अन्तर्राष्ट्रिय सीमाबाट सबैभन्दा नजिकको माउन्टेन फ्लाइट
विराटनगर विमानस्थलबाट भारतीय सिमाना १४ दशमलव ३ किलोमिटरको सडक दूरीमा पर्छ । यो विमानस्थलबाट माउन्टेन फ्लाइट गर्न भारतीयहरूलाई सबैभन्दा पायक पर्छ । विश्वस्तरीय माउन्टेन फ्लाइट गर्न चाहने भारतीयहरूलाई विराटनगर विमानस्थल ‘बेस्ट लोकेसन’ हो ।

५. नेपालको सबैभन्दा सस्तो माउन्टेन फ्लाइट
विराटनगरको माउन्टेन फ्लाइटमा नेपाली र भारतीयलाई ९ हजार ९ सय रुपैयाँ शुल्क रहेको छ । तेस्रो देशका नागरिकहरूलाई १ सय ४० अमेरिकी डलर शुल्क तोकिएको छ । यो शुल्क काठमाडौ र पोखराको माउन्टेन फ्लाइटभन्दा सस्तो हो । विराटनगर बाहिरबाट हुने माउन्टेन फ्लाइटको शुल्क विदेशीलाई १ सय ९० देखि २ सय २० अमेरिकी डलर प्रतिव्यक्ति तोकिएको छ । नेपालीलाई पनि १० हजारभन्दा बढी शुल्क तोकिएको छ ।

mt flight (2)