इटहरीः इटहरीमा बिहीबार बिहान साढे ८ बजे उद्घाटन हुने जनता पार्क निर्माणको विषय नगरकार्यपालिकाले बहुमतबाट बुधबार पारित गर्यो । नेकपाबाट निर्वाचित मेयर द्वारिकलाल चौधरीले वडा नम्बर ९ मा बनाउन खोजेको पार्कको लागि नेपाली काङ्ग्रेसका सबै १२ जना वडाध्यक्षले हस्ताक्षर गरेर सहयोग गरे । तर, नेकपाकै वडा नम्बर ५ का अध्यक्ष कल्याणबहादुर कार्की र उपमेयर लक्ष्मी गौतमले भने असहयोग गरे । कार्कीले आफ्नो वडामा पार्क बनाउने भनिए पनि पछि अर्को वडामा लगेको भन्द बैठकको निर्णयपुस्तिकामा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

उपमेयर लक्ष्मी गौतम भने नगरकार्यपालिका बैठकमा नबसी हठात् काठमाडौं जाने भनेर गएकी थिइन् । उपमेयर गौतम प्लेनको टिकट आइसकेकाले बैठकमा बस्न नपाएको भन्दै बहाना बनाएर बैठकबाट भागेको मेयर चौधरीले बताए ।

इटहरी ९ मा रहेको र हाल डिभिएम स्कुलले भोगचलन गर्दै आएको ३ बिघा जग्गामा जनता पार्क बनाउने निर्णयबाट पछि हट्न आफूलाई पनि ‘अफर’ आएको मेयर चौधरी बताउँछन् । ५० करोड बराबरको मूल्य पर्ने जमिन जोगाउन १० करोडसम्मको अफर गरिएको मेयर चौधरी बताउँछन् । उनी भन्छन्, ‘मलाई नै माफियाले १० करोडको अफर गरेका थिए । मैले पैसामा नबिक्ने बताएको थिएँ ।’

आफूलाई गरेकै अफर अरुलाई गरेर अभाव, दबाब र प्रभावमा पारिएको मेयर चौधरी बताउँछन् । यही प्रभावकै बलमा कार्यक्रमको उद्घाटन गर्न आउने भनिएका मुख्यमन्त्रीलाई ‘कान फुकेर’ नआउने बनाएको भन्दै मेयर चौधरीले दुःखेसो गरे । उनले भने, ‘कालो झन्डा देखाउँछन् भनेर वा अन्य केही हावा कुरा भनेर मुख्यमन्त्रीलाई उद्घाटनमा आउन नदिने षड्यन्त्र भएको छ । तर यो उद्घाटन हुन्छ ।’

मर्न तयार छु तर निर्णयबाट पछि हट्दिनँ: मेयर चौधरी
आफूले इटहरीको शहरी जनमानसलाई हित हुने र सार्वजनिक जग्गाको सही उपयोग गर्नलाई जनता पार्क बनाउन लागेको मेयर चौधरीले बताए ।

इटहरीका विभिन्न शक्ति केन्द्रले हडप्न खोजेको महङ्गो जग्गामा आफूले सार्वजनिक पार्क बनाउन खोज्दा ज्यान मार्न सक्ने हर्कत हुने भन्दै मेयर चौधरीले आफू कुनै हातलमा पछि नहट्ने बताए । उनी भन्छन्, ‘म जसरी पनि जनता पार्क बनाउने पक्षमा छु । यो क्रममा माफियाले पैसा र पावरको आडमा कसैलाई मारे भने यो पार्कको नाम जनता पार्क होइन शहीद पार्क हुनेछ । तर, जसरी पनि पार्क बन्ने छ किनभने यो जनताको हितमा छ ।’