मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कति धेरै असल !

दिनभरी शारिरिक र मानसिक कामबाट थाकेर
परिवार प्रतिको दायित्व सम्झेर घर फर्कनेहरु
सुटुक्कै एउटा कुनामा बसेर
सितनको जोहो नभएर हो कि परिवारको मोह नमरेर हो ?
नुन खोर्सानीको सितनसँग चिरीप्प तान्छन् !
एक दुइ गिलास ठर्रा रित्याएपछि खुट्टा बटार्दै बाटो लाग्छन् !
मानौं यो थकान र शिथिलता हटाउने
उदाशिनता नष्ट गरि उद्दण्डता बढाउने
यो ठर्रा अतिव जादुमयी औषधीको प्याला हो ।
यो भट्टी हाम्रो ठाउँकै उत्कृष्ट प्रयोगशाला हो ॥
मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कति धेरै असल !

.................................................

घर जग्गाको व्यापारबाट २ र ४ पैसा कमाएकाहरु
बाबुआमा बाँस बस्ने घर बेचेर विदेश गएर घर फर्केकाहरु
एउटा क्याविन र टेबल ओगटेर बस्छन् !
दुई चार साथीभाई श्रोताको रुपमा जम्मा पार्छन्
अनि आफु को हो चिनाउन सकेसम्मको फुइँ झारछन् !
आफ्नो र व्यवसाय र कामको बेली व्याख्यान लगाउँछन् !
कमाइको स्तर अनुसार फर्माइस गर्छन् !
सेकुवा र कवाफसँग देशी विदेशी रम र ह्विस्कीको स्वाद लिदै
भए नभएका फुर्ती र रवाफ जमाउछन् !
मानौं आफु सबभन्दा सफल भएको बयान गर्छन् !
अवेर राती मापसेबाट जोगिदै घर तिर लाग्छन् ॥
मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कति धेरै असल !

.......................................................

घुस अड्डाका कर्मचारी र तिनका चाकरहरु
कथित वित्तिय मध्यस्तकर्ता भनौं फाइनान्सियल ह्याकरहरु
अर्को क्याविन र टेबल तिरको खाली ठाउँ भर्न पुग्छन् !
मामाको घोडी मेरो हि हि ! भनेझैं अर्डर फर्माउछन् !
योजना र विनियोजन सबै त्यहीं सम्पन्न गर्छन् !
सुन्नेलाई लाग्छ यिनी धन्न छन् र देश चलेकोछ !
चन्द्र सुर्य हिड्छन् र फलफुल अनि अन्न फलेकोछ !
कसैको जिउँदै चिता पखाल्छन् ! कसैको मन पगाल्छन् !
सट्याक सुटुक गोप्य मन्त्रणा गरी
खाने, पिउँने मात्रै नभइ जीवन जीउने
स्वप्निल विधी र प्रविधी समेत तयार पार्छन ।
काममा भने कानुनको लठ्ठी उचालेर फेरी दाम झार्छन् ॥
मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कति धेरै असल !

.................................................

राजनीतीका स्वनामधन्यः माहिर खेलाडीहरु
गर्न त कसैले केही गर्दैन् बरु घाम अस्ताउनै पर्दैन
अलिकती घाम ढल्किए पछि भट्टीको मुलढोका निरै बस्छन् !
सायदः मुल्ला फसाउन फोन घुमाउछन् !
कोही भेटिए भेटिएकालाई बलि चढाउछन् !
पाए देशी ब्राण्डेड नपाए ठर्रामा रमाउछन् !
भट्टी पसलमा अड्डै जमाउछन् !
विकास र निकाश आफैं संग मात्र भएको
आफु नै यस क्षेत्रको मसिहा भएको राग अलाप्छन् !
कसलाई उडाउने अनि कसलाई गुडाउने
सबै सबै यतै सम्पन्न गर्ने जस्तै अभिनय गर्छन् ।
सिन्को सर्दैन गफैले आकाश पाताल जोड्ने पुल हाल्छन् ॥
मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कति धेरै असल !

.......................................................

बडा घरका घरानियाँ भनिएका बुहारी र छोरीहरु
जस्केलाको बाटो सुटुक्क भट्टीमा छिर्छन्
अनि पसलेले मागे जति तिर्छन् !
साथी सहयोगी बोलाउछन् र कोठा भित्रै बस्छन् !
आउने वेला आफैं ठम ठम हिँडे पनि
फर्किने वेला सहयोगीको साथ रोज्छन् !
आफ्नै शरिर र वस्त्रहरु पनि थाहा नपाउने भएपछि !
साथीको भरमा मनलाग्दि समयमा घर–घर पुग्छन् ।
यही अधुनातन र सभ्यता हो भनेर
तिनका अभिभावक र समाज सुधारकहरु गफ जोत्छन् ॥
मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कति धेरै असल !

.........................................................

कतिको घरवार जोड्यो यसले कतिको तोड्यो !
कता फर्केर हिँडेको पाइला कतातिर मोड्यो !
कतिलाई चुलिमा चढायो अनि कतिलाई सुलि चढायो !
कतिलाई चिहानबाट झिक्यो भने कतिलाई गडायो !
कतिको पिताम्वर फुकाल्यो कतिलाई भिरायो !
कतिलाई सडकमा पुर्यायो भने कतिलाई दरवार छिरायो !
कतिलाई चुनाव जितायो भने कतिलाई थांग्नामा सुतायो !
यो भट्टी पसल आधुनिक संस्कृतिको जननी हो !
मानौं समाज र व्यवस्थाको नव प्रवर्तक र प्रवद्र्धक हो !
मुलुककै सिंहदरवार र शासन प्रशासन यहीबाट चल्छ !
सबैको घरको चुल्हो यहीबाट बल्छ ॥
मेरो छिमेकमा छ एउटा भट्टी पसल
कति धेरै गुनिलो छ कती धेरै असल !