इटहरीः सुनसरीको रामधुनी नगरपालिकाको वडा नम्बर ४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा आज हजारौँ भक्तजन पुगेका छन् । बालाचतुर्दशीको दिन पितृलाई सम्झेर शतबीज छर्ने भक्तजनका कारण मन्दिर परिसरमा बिहानैबाट भीड भएको थियो ।

मंसिर कृष्ण चतुर्दशीको दिन हरेक वर्ष वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले बालाचतुर्दशीमा शतबीज छर्ने गर्छन् । शतबीज भनेको विभिन्न किसिमका सय थरीका अन्नको बीउ हो । तर, सय थरीका अन्न नपाइने हुनाले सात थरीका अन्नको बीउ अर्थात् सप्तबीज छर्ने चलन बढेको छ । सप्तबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो पर्छन् ।

आजको दिनमा शतबीज छरेमा धेरै पुण्य मिल्ने विश्वास गरिन्छ । धार्मिक आस्थाका आधारमा आएका भक्तजनहरूले गर्दा रामधुनी मन्दिरमा बढी भीड देखिएको थियो । मन्दिरभन्दा २ किलोमिटर वरै सवारी पार्किङ गरेर व्यवस्थित गर्न खोजिएको मन्दिरमा पैदल यात्रीहरूको पनि अत्यधिक भीड थियो ।

२० हजारभन्दा बढी भक्तजनले छरे शतबीज
लामो समयदेखि रामधुनीमा बालाचतुर्दशीको दिन लाग्ने मेलाको रिपोर्टिङ गर्दै आएका नेपाल टेलिभिजनका पत्रकार कृष्ण भट्टराईका अनुसार आजको भीड सबैभन्दा ठूलो हो । पत्रकार भट्टराईमात्रै होइन श्री रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले पनि आजको भीड ऐतिहासिक भएको बताए । उनले भने, ‘त्रेता युगमा भगवान रामले धुनी जगाएर बनाएको रामधुनीको महत्व बुझ्नेहरू बढ्दै गएकाले भक्तजनहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।’ आज २० हजारभन्दा बढी भक्तजनहरू आएको अनुमान व्यवस्थापन समितिले गरेको कार्कीले बताए ।

भारतीय तीर्थयात्री पनि बढ्दै
इटहरीबाट १६ किलोमिटर तथा झुम्का बजारबाट ८ किलोमिटर टाढा रहेको रामधुनी मन्दिरमा शतबीज छर्न आउने भारतीयहरू पनि बढेका छन् । आज भेटिएका भारतको अररिया जिल्लाका कपित साहले आफू पहिलोपटक रामधुनी आएको बताए । भारतबाटै ७ जना साथीसँग आएको बताएका साहले रामधुनीको बारेमा धेरै भारतीयलाई जानकारी नै नभएको बताए । उनले भने, ‘मैले विराटनगरको साथीले भनेर मात्रै थाहा पाएँ । यसको प्रचार भएमा अझै करोडौँ भारतीय हिन्दूहरू आउने थिए ।’

ramdhuni  (2) ramdhuni  (3) ramdhuni  (5) ramdhuni  (4)