इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको सार्वजनिक जग्गामा बिहीबार जनता पार्कको शिलान्यास भएको छ । ३ बिघा जग्गामा ५० लाख बढीको खर्चमा पार्क निर्माण हुने भएको छ । सो जग्गामा भ्यु टावर र धरहरासहितको आकर्षक पार्क बन्ने बताइएको छ । सो पार्क शिलान्यास कार्यक्रममा उपस्थित वक्ताले राखेको धारणाको सम्पादित अंशः

rewati ghimire 1

रेवती घिमिरे, अध्यक्ष, नेकपा नगर कमिटी इटहरी
जनतापार्कको विषयमा अनेका खालका विवाद हुनु राम्रो होइन । पार्टीभित्र र नगरपालिकाभित्र विवाद झिकिएको छ । पवित्र कार्यमा विवाद झिक्नु राम्रो कुरा होइन । यसलाई मैले गम्भीर रूपमा लिएको छु । विवादका विषयमा पार्टीभित्र समेत गम्भीर तरिकाले बहस हुनेछ ।

dipak gautam 1
दीपक गौतम, वडाध्यक्ष, वडा नम्बर ६

जनता पार्कको विषयमा सुझाव नआएका पनि होइनन् । कति कुरा मननयोग्य पनि थिए । विचारयोग्य पनि थिए । सहमति, सहकार्यका लागि केही विषय ढिलो भएका पनि हुन् । तिनका पनि आफ्नै पक्ष थिए होला । हिजो मात्र कार्यपालिकाको बैठक बसेर हामीले यसबारेमा विशिष्ट निर्णय पनि गर्याँै । हामीले इटहरीभित्र भएका सार्वजनिक जग्गा जनताको हितमा प्रयोग गर्नुपर्ने पनि छ । यस्ता जग्गाहरूमा कसरी कार्य गर्न सक्छौँ भनेर छलफल गरिसक्दा आज यो पहिलो प्रयासको रूपमा देखिएको छ । सँगसँगै इटहरी क्षेत्रमा देखिएका यस्ता धेरै सार्वजनिक जग्गाहरू खोजेर जनता पार्क जस्तै योजना ल्याउन चुनौतीका साथ अवसरसमेत रहेको छ ।

जनता पार्क बनाउने सम्बन्धमा केही कुरा उठे जुन सबैको ध्यानाकर्षण हुने खालका थिए । जसमध्ये एउटा विषय क्रिकेट मैदानको पनि थियो । इटहरीका क्रिकेट खेलाडी राष्ट्रिय स्तर सम्म पुगेका छन् । इटहरीभित्र पनि क्रिकेटप्रेमी धेरै हुनुहुन्छ । यस विषयमा पनि हाम्रो छलफल भएको हो । हाम्रो निचोड पनि क्रिकेट खेल्ने र खेलाउने नै हो । खेलाडी साथीहरूको कुनै पनि खेल रोकिँदैन जबसम्म साथीहरूलाई अर्को वैकल्पिक व्यवस्था हँुदैन । इटहरी उपमहानगरले जबसम्म अर्काे पिच र व्यवस्थित स्टेडियम बनाउँदैन तबसम्म यहाँबाट कोही पनि विस्थापित हुनुपर्दैन । हामीले ठाउँ पनि पहिचान गरिसकेका छौं ।

हामी शिक्षा क्षेत्रप्रति पनि संवेदनशील छौं । पठनपाठन नै बन्द गराएर काम गर्ने गराउने छैनौँ तर विद्यालयसँग सम्बन्धित विवादहरू अब टेबलबाट नै समाधान गर्न अघि बढ्नुपर्दछ । शिक्षाबाट कोही पनि वञ्चित हुनुपर्ने छैन । उचित शिक्षाको व्यवस्था गराउनु पनि स्थानीय सरकारकै जिम्मेवारी हो ।

sarbadhwaj sawna

सर्वध्वज साँवा, सांसद प्रदेश नम्बर १
जनता पार्कको निर्माण सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दछु । पार्क नगरको लागि अत्यन्त आवश्यक थियो । ठाउँ खोज्दै जाँदा नगरले यो ठाउँ उपयुक्त चयन गरेर बजेट पनि विनियोजन गरेको छ । काम सम्पन्न गर्नको निम्ति आज शिलान्यास छ । यो ठीक छ मेयर सा’पको ठोस काम हो यो । रातदिन लागेर पार्क निर्माण सम्पन्न गर्नुहुन्छ भन्ने लागेको छ ।

मलाई लाग्छ हामी गुफामा बसिरहेका छाँै । बत्ती नाआउने हो भने हाम्रो घर गुफाजस्तै हुन्छ । हामीलाई खुला ठाउँ चाहिन्छ । हामी यहाँ आएर लामो लामो सास फेर्नेछौँ । सेल्फी पनि हान्नेछौँ । खुट्टा पनि तन्काउनेछौँ । डेटिङ पनि जाने छाँै । यो पनि विकासको एउटा चरण नै हो । यो नितान्त आवश्यक थियो । त्यसैले मेयर सा’पले विकास गर्न खोज्दै हुनुन्छ । मेयर सा’पको यो काम प्रशंसनीय छ । यहाँको जग्गामा विवाद रहेछ । अब त्यो विवाद मिलाउनु पर्छ ।

dwarik lal 14ry

द्वारिकलाल चौधरी, मेयर इटहरी उपमहानगर

सार्वजनिक जग्गा खोज्न हामीले धेरै समिति गठन गरेका थियौँ । हामीले १३ नम्बर वडाका अध्यक्षको संयोजकत्वमा सरकारी र ऐलानी जग्गा खोज्ने समिति पनि निर्माण गरेका छौँ । हामीले बजेट बनाउँदा स्थानीय तह सञ्चालन ऐन आएको थिएन । पहिलो सभामा नयाँनयाँ भएकाले बजेटमा कतिपय त्रुटि पनि भए होला । हामीले चाहेर पनि काम गर्न सकेनौँ । हामीले चालु आर्थिक वर्षको बजेट ल्याएका छौँ अहिले बजेटमा धेरै सुधार छ ।

हामी सबै वडामा यस्ता पार्क बनाउनु पक्षमा छौं । आज हाम्रो पहिलो बोहनी भएको छ । त्यसैले इटहरीको इतिहासमा आज यो एउटा महत्वपूर्ण दिन हो । यो शिलान्यासमा शङ्का पनि हुन सक्छ । कतै शिलान्यास भएर निर्माण चाहिँ अधुरै रहने पो हो कि ? तर म विश्वास दिलाउन चाहन्छु २०७६ बैशाख १ गते यसको भव्यतापूर्वक उद्घाटन पनि गराउँछु ।

सार्वजनिक जग्गा खोज्न हामी धेरै सक्रिय छौँ । हामीले ४० लाख रुपैयाँ मात्र सार्वजनिक जग्गाको घेराबारामा छुट्याएका छौँ । ५० लाख रुपैयाँ जनता पार्कको लागि छ । जनता पार्कलाई आधारभूत निर्माणको लागि यो जग्गा पर्याप्त छ । ४ महिनामा जनता पार्कको आधारभूत काम सकिने छ । हामीले पार्कको भव्यताका साथ शिलान्यास गर्न प्रदेश मुख्य मन्त्रीलाई बोलाएका थियौं । तर, उहाँको कर्यव्यस्तताले उहाँ हिजै ताप्लेजुङको ओलाङचुङगोला प्रस्थान गर्नुभएकाले आउन सक्नुभएन ।
उहाँले सन्देश पठाउनुभएको छ । उद्घाटनमा चाहिँ आउँछु भन्नुभएको छ ।