इटहरीः प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

राईले आइतबार एक शुभकामना वत्तव्य जारी गर्दै (ईद–उल–अजाह) पर्वको सुखद अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ, दिदीबहिनीहरूसहित सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका हुन्  । इस्लाम धर्मावलम्बीहरूले  रमजान पर्वको ७० औं दिनमा मनाउने बकर इद इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा मनाइने बताउँदै मुख्यमन्त्रीले आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको बताएका छन् ।

मुसलमान समुदायले मनाउने बकर इद पर्व एउटा उत्साह र समानताको प्रतीक भएको बताउँदै उनले परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरीब, आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्ने तथ्यसमेत शुभकामना मन्तव्यमा दर्शाएका छन्  ।

 नेपाल शदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथाा बहुसाँस्कृतिक मुलुकका रुपमा रहेको स्मरण गराउँदै मुख्यमन्त्री राईले सबै भाषा, धर्म, सँस्कृति, चाडपर्वको संरक्षण एवम् सम्वद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन् । ‘हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीहरूसहित सबै नेपालीहरूमा बकर इदका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ मुख्यमन्त्रीद्वारा जारी शुभकामना वक्तव्यमा भनिएको छ ।