इटहरीः रामधुनी नगरपालिकाले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा उपभोक्ताले काम सकाएर फायल बुझाउँदा पनि पैसा नपाएको भन्दै भाँडभैलो मच्चिएको छ । 

सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु हुनासाथ नगरपालिकामा योजना सम्झौता गरी काम पूरा गरेता पनि रकम भुक्तानी नभएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरुले पहिला जनताको काम गर्न भन्दै प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापालाई दबाब दिएका थिए । ‘यता जनताले काम गरेको पारिश्रमिक पाएका छैनन्, के को सार्वजनिक सुनुवाइ ?’ भन्दै उपस्थितले कार्यक्रम नै अगाडि नबढाउन माग राखेका थिए । असन्तुष्टहरुलाई सम्झाउन सार्वजनिक सुनुवाइको सभापतित्व ग्रहण गरिरहेका नगरप्रमुख शंकरलाल चौधरीले काम सम्पन्न भएका उपभोक्ताले जसरी पनि पैसा पाउने भन्दै आश्वस्त पारेका थिए । 

प्रमुख प्रशासकीय अधिकृतले आफ्नो प्रतिवेशन पेस गर्दै गर्दासमेत उनको वक्तव्य नै रोक्न प्रयास भएको थियो । आर्थिक वर्षको अन्त्यमा जथाभावी चलखेल हुने भन्दै अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयले असार २५ गतेबाट भुक्तानीका लागि सर्भर बन्द गरिदिएपछि समयमा नै भुक्तानी हुनुपर्ने सयभन्दा बढी उपभोक्ता समितिमार्फत् भएका कामको भुक्तानी भएको छैन । 

रामधुनी नगरपालिकाको वडा नम्बर १ मा माछा पोखरी पकेट कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँको योजना सञ्चालन गरेका अर्जुन माछा फार्मका सञ्चालक सुरेश मुखियाले किसानहरुको सहभागितामा काम सम्पन्न गरेपनि नगरपालिकाले चेक नदिएको बताएका छन् । किसानलाई माछाको दाना, माछाको भुरा, पानी तान्ने पम्प, चुना लगायतका सामग्री वितरण गर्नुका साथै पोखरी मर्मत गर्ने काम आफूले गरिसकेको र मेयर, उपमेयर लगायतको टोली अनुगमनका लागिसमेत  गएर पास भएको योजनाको फायल असार १९ गते नै पेस गरेको भएता पनि भुक्तानी नपाएको मुखियाले बताएका छन् । नगरपालिकाको लेखा शाखाले असार २४ गते राति ११ः०० बजे चेक लिन भन्दै बोलाएको भएपनि आफ्नो फायल फ्याँकिदिएको मुखियाको गुनासो थियो । ठूलो रकम भएकाले आफूले पनि ऋण लिएको र कामदारलाई समयमा पैसा दिन नसकेको उनको गुनासो थियो । आफ्नो बच्चा बिरामी भएर हस्पिटलमा राखेको चार दिन हुँदासम्म पैसा नहुँदा अस्पताल जान नसकेको मुखियाले गुनासो पोखे । 

रामधुनी नगरपालिका वडा नम्बर ६ को ग्राभेल बाटोको ६ लाख रुपैयाँको काम गरेका अनिस ढकाल पनि आफूले गत स्थानीय निकायको निर्वाचनभन्दा पहिले नै गरेको कामको भुक्तानी अहिलेसम्म नपाएको गुनासो गरेका थिए । उपमेयर अनुगमनमा आउने भन्दै नगरपालिकाको योजना शाखाले एक हप्ताभन्दा बढी पर्खाएको तर पछि अनुगमन गर्नुनपर्ने भयो भनेको तर अन्तिममा असार २३ गते फायल छोडेको र नगरपालिकाले २४ गते शुक्रबार आउनु भनेको भएता पनि शुक्रबार फोन नै नउठाएको अनिस बताउँछन् । 

सार्वजनिक सुनुवाइमा आफ्नो गुनासो राख्दै आदिवासी जनजाति नेता तथा एक टोल विकास सँस्थाका अध्यक्षसमेत रहेका सुरेश चौधरीले माटो तथा गिट्टीको भ्याट बिल मागेर नगरपालिकाले सेवाग्राहीलाई दःुख दिने गरेको बताए । भुक्तानी पाइन्छ कि भनेर आफूहरु नगरपालिका आउने तर नगरपालिकाले भने १ हप्तापछि यो कागज पुगेन भनेर अनावश्यक दुःख दिने गरेको चौधरीले बताए । 

आफ्नो प्रश्न गर्दै युवा मनिस काफ्लेले नगरपालिकामा सम्झौता गर्नकै लागि १५ दिनदेखि एक महिनासम्म धाउनुपर्ने भएकाले सेवाग्राहीलाई अनावश्यक दुःख भएको गुनासो राखेका थिए । यसैगरी, अर्का सेवाग्राही पुष्प कार्कीले कर्मचारी संयन्त्रले सेवाग्राहीको कागज कुन कुन आवश्यक हुन्छ, के पुगेन भनेर समयमै नसम्झाउने र दुःख दिने गरेको बताए । 

उता, रामधुनी ३ का सुरेन्द्र रिजालले २३ गते फायल बुझाउँदा सम्पर्कमा रहनु भनिएको तर अहिले सर्भर बन्द भयो चेक काट्न मिल्दैन भनेर नगरपालिकाले दुःख दिएको गुनासो गरे । 

भुक्तानी असहजतासम्बन्धी गुनासोहरुको सम्बोधन गर्दै रामधुनी नगरपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देलले आफूहरु रातभर काम गर्दा पनि समयमा फायलहरु नआइपुगेको तथा शुक्रबार र शनिबार दिनभर सर्भरमा समस्या आउँदा संघीय सशर्त अनुदान तर्फको योजनाका चेकहरु काट्न नसकिएको बताए । उनले आफूले कुनै पनि आर्थिक लेनदेन नगरेको र एक पैसा पनि सेवा गरेबापत सेवाग्राहीबाट लिने नगरेको स्पष्ट पारेका थिए । उनले अब भुक्तानी हुन बाँकी रहेका फायलका बारेमा कार्यपालिकाले संघीय सरकारसँग समन्वय गरेर सर्भर खुलाउनतर्फ पहल गर्नुपर्ने अन्यथा आगामी वर्षको बजेटबाट साउन १० तथा १२ गतेपछि भुक्तानी गर्न सकिने बताएका थिए । 

रामधुनी ३ मा डम्बरबहादुर लिम्बूले वडा नम्बर ३ भरि गिट्टी छर्न भनेर दिएको योजनामा अनुगमन फोनमार्फत् गरेको र महिलालाई मात्र फोन गरेको आरोप योजना अधिकृत सुवोध निरौलालाई लगाएका थिए । 

जवाफमा योजना अधिकृत निरौलाले आफ्नो टेबलमा असार २२ गते फायल आइपुगेको र फिल्डमा जान कम समय भएकाले डम्बरबहादुरले नै उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरी सोध्दा ३ ट्याक्टर मात्र गिट्टी हालेको प्रतिक्रिया पाएको बताए । ९ ट्याक्टर गिट्टी हालेको भनेर फायल पेस गरिएकोमा फोनमार्फत् ३ जनालाई सोध्दा ३ ट्याक्टर मात्र गिट्टी हालेको र हस्ताक्षरसमेत किर्ते गरेर पेस गरेको भन्ने जवाफ पाएको निरौलाले बताए । 

आफूले गलत नगरेको भन्दै निरौलाले रोष्टम ठोकेपछि रोष्टम किन ठोकेको भन्दै एकछिन कार्यक्रमथल नै रणभूमिमा परिणत भएको थियो ।सार्वजनिक सुनुवाइमा सहजकर्ता धीरेन्द्र चौधरीले एक्जिट पोल र जनतासँग गरेको नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  भेलामा उपस्थित अधिकांंशले एक्जिट पोलको तथ्याङ्क गलत रहेको भन्दै व्यापक विरोध गरेका थिए । गोविन्द आचार्य,  पुष्प कार्की लगायतले घरमा बसेर तयार पारेको प्रतिवेदन पेस गरिएको भन्दै थयार्थपरक प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए ।  

सार्वजनिक सुनुवाइमा आफ्नो वडाको प्रतिवेदन राख्दै रामधुनी वडा नम्बर ५ का वडाध्यक्ष लेखनाथ बास्तोला (भोला) ले आफूहरु जनप्रतिनिधिले कहिलेसम्म क्षमायाचना गर्ने भन्दै अन्य जनप्रतिनिधि र आफैँलाई समेत प्रश्न गरे । ‘हामीले कर्मचारीलाई मात्रै दोष दिएर पन्छिन मिल्दैन । आगामी दिनमा मेरो वडामा यस्तो हुन दिनेछैन ।’ बास्तोलाले भने । 

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले कर्मचारीले कानून टेक्नुपर्ने भएकाले सबै ढिलाइको जिम्मेवारी लिन नसकिने बताए । आज चेक भएन भने म जे पनि गर्छु भन्नेजस्ता कुराहरु आइरहेकाले त्यसले कर्मचारीको सुरक्षामाथि समेत शङ्का पैदा गरेको थापाले बताए । केही कमीकमजोरीका कारण समयमा चेक भुक्तानी नभएका उपभोक्ता समितिको लागि केही विकल्प निकालेर भुक्तानी दिइने थापाले स्पष्ट पारेका थिए ।