ramdhuni gitti news2 1इटहरीः सुनसरीको रामधुनी नगरपालिकाको वडा नम्बर ३ मा वडाभरि गिट्टी हाल्ने तथा ग्राभेलको काम गरेका डम्बर लिम्बूले नगरपालिकालाई फिल्डमै गएर आफूले गरेको कामको अनुगमन गरिदिन अनुरोध गरेका छन् ।

नगरपालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामधुनी ३ का लिम्बूले उपभोक्ताले गरेको कामको अनुगमन नगरपालिकाले फिल्डमै गएर गर्नुपर्ने कि फोनबाट गर्ने ? भन्दै प्रश्न गरेका थिए । लिम्बूको प्रश्नको जवाफमा नगरापालिकाका योजना अधिकृत सुवोध निरौलाले आफ्नो टेबलमा उक्त उपभोक्ता समितिको फायल २२ गते असारमा मात्र आएको र सो समयमा आफूसँग ४० भन्दा बढी फायलहरु अनुगमनका लागि आएकाले आफू फिल्डमा जान नसकेको र कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतको अनुमतिमा फोनमार्फत् नै ३ जनालाई सम्पर्क गरेर कामको सत्यतथ्य बुझेको जवाफ दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको अगाडि नै बसेर आफूले लाउड स्पिकरमा फोन गरेको र उपभोक्ताले आफ्नो घरअगाडि ३ ट्याक्टर मात्र गिट्टि हालेको प्रतिक्रिया दिएको निरौलाले मञ्चबाट बताए । यता, रामधुनी ३ को बाटो मर्मत तथा ग्राभेल उपभोक्ता समितिका डम्बरबहादुर लिम्बूले भने आफूले एक ठाउँमा मात्रै गिट्टी हालेको नभई वडाभरि गिट्टी हाल्ने योजना भएकाले फोनमार्फत् सम्पर्क भएका व्यक्तिको घरअगाडि ३ ट्याक्टर मात्र हालिएको हुनसक्ने र अन्य बाटोमा अरु गिट्टी हालिएको बताएका छन् । आफूले काम सकाएपश्चात् वडा नम्बर ३ को वडा कार्यालयमा फायल पेस गरेको र वडाले अनुगमन गरी मूल्याङ्कन निकालेर पास गराएपछि मात्र नगरपालिकामा सिफारिस सहितको फायल पठाएको सोही उपभोक्ता समितिका शंकर थापाले प्रदेश पोर्टललाई बताए ।

नगरपालिकाले उपभोक्ता समिति र वडा कार्यलयबाट गरिएको अनुगमनलाई समेत विश्वास नगरी फोनको भरमा हैकम चलाउन खोजेको उनीहरुको आरोप छ । जेठ महिनाको १९ गते काम गर्नू भन्ने कार्यादेशबाट वडाको विभिन्न ठाउँमा बाटो मर्मत तथा ग्राभेल गर्ने काम पाएको उपभोक्ता समितिले असार महिनाको १५ गतेसम्ममा काम सक्नुपर्ने तर आफूहरुले १३ गते नै काम सकाएर वडा कार्यलयमा बुझाएको, १७ गते वडा कार्यालयले सिफारिस गरिदिएको र १९ गते नगरपालिकामा भुक्तानीका लागि फायल पेस भएको शंकर थापा बताउँछन् । ‘हामीले वडाध्यक्ष र वडा सचिवले भनेको ठाउँमा थप गिट्टीसमेत हालेपछि वडाबाट सिफारिस दिनुभयो, अनि फायल हामीले नगरपालिकामा पवन सरलाई पेस गरेका हौँ ।’ शंकरले प्रदेश पोर्टललाई बताए ।

फायल पेस गरेपछि नगरपालिकाको योजना शाखामा बुझ्न जाँदा कहिले काम भएको छैन भन्ने तथा कहिले फिल्डमा जानुभएको छ भनेर टार्ने गरेको थापाको भनाइ थियो । योजना शाखाबाट काम भएको हो या होइन, बाटोका अध्यक्षहरुको फोन नम्बर ल्याउनू भनेर भनिएको र आफूहरुले केही बाटोका उपभोक्ताको फोन नम्बर उपलव्ध गराएको उपभोक्ता समितिका लिम्बूले सुनाए । ३ लाख रुपैयाँको योजनामा जनसहभागितासहित गरेर आफूहरुले एक सय ४६ ट्याक्टर गिट्टी झारेको उनीहरुको दाबी छ । जसमा जनसहभागिताबाट ३२ ट्याक्टर र उपभोक्ता समितिले एक सय १४ ट्याक्टर गिट्टी रामधुनी नगरपालिकाका वडा नम्बर ३ का विभिन्न १४ वटा बाटोमा लगाएको दाबी उनीहरुले गरेका छन् ।

उपभोक्ता समितिले दाबी गरेबमोजिम वडाको सिमाना मार्गमा २० ट्याक्टर, उन्नति मार्गमा ५ ट्याक्टर, चिनारी मार्गमा १० ट्याक्टर, महादेव मार्गमा १२ ट्याक्टर, भोजपुरे मार्गमा १६ ट्याक्टर, सप्तरंगी मार्गमा ६ ट्याक्टर गिट्टी हालिएको छ । त्यसैगरी, प्रगति मार्गमा ५ ट्याक्टर, ज्योति मार्गमा ५ ट्याक्टर, शिवालय मार्ग क्षेत्रमा ३ ट्याक्टर, समावेशी मार्गमा ३ ट्याक्टर, जनजागृति मार्गमा ८ ट्याक्टर, संगम मार्गमा ५ ट्याक्टर, चौतारी टोलदेखि सेरा खोलासम्म ५ ट्याक्टर र चौलागाईँ टोलमा एक ट्याक्टर गिट्टी हालिएको र हरेक टोलमा २० प्रतिशत जनसहभागिता थप गरिएको दाबी लिम्बूले प्रदेश पोर्टलसँग गरेका छन् ।

२० प्रतिशत जनसहभागिताबाहेक एक सय १४ ट्याक्टर र जनसहभागितातर्फको ३२ ट्याक्टर गरेर आफूहरुले जम्मा एक सय ४६ ट्याक्टर गिट्टी हालेको लिम्बूको दाबी थियो । भ्याटसहित प्रतिट्याक्टर गिट्टीको मुल्य २ हजार ३ सय रुपैयाँ हुनेगरी आफूहरुले बिल पेस गरेको डम्बरले बताए । सत्यतथ्य विवरण बुझ्न नगरपालिकाका प्रतिनिधि फिल्डमै गएर अनुगमन गरिदिनुपर्ने उपभोक्ता समितिको माग छ । रामधुनी नगरपालिकाले उपभोक्ता समितिमार्फत् भएको कामको भुक्तानी गर्न असार २५ गतेसम्म काटिसक्नुपर्ने चेक चालु आर्थिक वर्षको सिस्टम बन्द हुँदासम्म काट्न नपाएपछि उपभोक्ता समितिमार्फत् काम गरेका डम्बरजस्तै सयभन्दा बढी उपभोक्ता समितिका व्यक्तिहरु मारमा परेका छन् ।  

नगरपालिकाले भने शुक्रबार र शनिवार सिस्टम बारम्बार बन्द भएका कारण लेखा समितिले काम गर्न नपाएको भन्दै पन्छिँदै आएको छ । असार २२ गतेदेखि २४ गतेसम्म नगरपालिकामा सयभन्दा बढी फायल भुक्तानीका लागि आएको नगरपालिकाका योजना अधिकृत सुवोध निरौला बताउँछन् । योजनाहरु असार लागेपछि सम्झौता हुने र अन्तिममा फायलहरु एकैचोटि आउँदा नगरलाई अनुगमन र भुक्तानीमा बोझ हुने नगरपालिकाका कर्मचारीहरुको भनाइ छ । कतिले त असार लागेपछि लेखा अधिकृत एक हप्तासम्म बजेट बनाउन व्यस्त भएर नियमित काम नगर्ने र असार १३ देखि १८ गतेसम्म बिदा लिएकाले काम नसकिएको आरोपसमेत लगाएका छन् ।