कोलम्बोः रनिल विक्रमसिङ्घे अचानक श्रीलंकाको प्रधानमन्त्रीबाट नयाँ अन्तरिम राष्ट्रपतिमा पदोन्नति भएका छन् । तर, कति समयसम्म उनी सो पदमा रहन्छन् भन्ने कुुरा एउटा खुला प्रश्न बनेको छ ।  

टापु राष्ट्र श्रीलंकाको चरम आर्थिक समस्यालाई लिएर सरकार विरोधी प्रदर्शन भएपछि उनका पूर्ववर्ती गोटाबाया राजापाक्ष भागेर सिंगापुर पुगेका छन् । 

वरिष्ठ विधायक विक्रमासिङ्घे छ पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेका छन् । तर, उनले कहिल्यै पूरा कार्यकाल तय गर्न भने पाएका छैनन् । नयाँ अन्तरिम राष्ट्रपतिको हैसियतले उनले मुलुकभर गरेको संकटकालको घोषणा पनि जनताले अवज्ञा गरेका छन् । बरु हजारौँ प्रदर्शनकारीहरू राजधानी कोलम्बोस्थित उनको सरकारी निवासमा छिरेका थिए । 

टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा उनले प्रदर्शनकारीहरूलाई ‘फासीवादी’कोे संज्ञा दिएका छन् । तर, राजापाक्ष निकटको व्यक्ति भएकाले जनता उनलाई पनि सत्ताच्युत गराउन चाहन्छन् । 

अस्थिरता बढ्ने क्रममा गत शनिबार उनको निजी निवास पनि प्रदर्शनकारीहरूले जलाइदिएका थिए । तर, त्यतिबेला उनी घरमा थिएनन् । 

खाद्यान्न र इन्धन लगायत अन्य अत्यावश्यक वस्तुहरूको चरम अभाव भोगिरहेका आक्रोशित जनताले गरेको यस विरोध प्रदर्शनको क्रममा कम्तीमा नौ जना व्यक्तिले ज्यान गुमाइसकेका छन् । 

पेशाले वकिल विक्रमसिङ्घे व्यापारी र राजनीतिज्ञहरूको धनी परिवारबाट आएका हुन् । सन् १९७७ मा पहिलो पटक संसद सदस्यमा निर्वाचत भएका उनले सन् १९८९ मा रणसिङ्घे प्रमादासा राष्ट्रिपतिमा निर्वाचित भएपछि फटाफट पार्टीको सिँढी उक्लेका थिए । उनी पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री भएका थिए । 

त्यसैगरी लिबरेसन टाइगर्स अफ तमिल इलमका लडाकुहरूबाट गामिनी दिसानायकेको हत्या भएपछि सन् १९९४ मा उनी युनाइटेड नेसनल पार्टीका अध्यक्ष बनेका थिए । 

उनी आफैँ पनि एप्पावाला सहरमा एउटा बैठकलाई सम्बोधन गरिरहेका बेला भएको बम आक्रमणमा भाग्यले बचेका थिए । 

सन् २०१९ मा कम्तीमा २५० जनाको ज्यान जानेगरी भएको इस्टर सन्डे बम काण्डका बेला पनि उनी मुलुकका प्रधानमन्त्री थिए ।

अहिले उनले शान्ति सुरक्षा पुनःस्थापना गर्न जुनसुकै कदम चाल्नका लागि सेना र प्रहरीलाई निर्देशन दिएका छन् । -बीबीसीबाट