इटहरीः इटहरी उपमहानरपालिकाको वडा नम्बर ४ मा रहेको थारु पोखरीमा पोखरी सौन्दर्यीकरण शीर्षकमा छुट्याइएको बजेटले ब्रह्माको मूर्ति हालिएपछि विवादको विषय बनेको छ । 

इटहरी उप महानगरपालिकाले पौने तीन लाख रुपैयाँ खर्चेर इटहरी ४ स्थित थारु पोखरीमा  ब्रह्माको  मूर्ति हालेपछि विवाद सिर्जना भएको हो । अघिल्लो नेतृत्वको स्थानीय सरकारले पोखरी सौन्दर्यीकरण शीर्षकमा छुट्याइएको बजेटले पोखरीको अन्य कुनै काम नगरी मूर्ति मात्र स्थापना गरेपछि चौतर्फी आलोचना भएको छ । थारु जतिहरुको बस्तीमा रहेको पोखरीमा ब्रह्माको मूर्ति दखेपछि स्थानीय थारुहरु नै अचम्ममा परेका छन् । 

थारू समुदायले सो पोखरीबाट बनेको मूर्ति तत्काल हटाउनुपर्ने  मागसमेत गरेका छन् । थारु जातिको साँस्कृतिक पहिचान बोकेको उक्त पोखरीमा सो मूीर्त हुन नहुने उनीहरुको माग छ । थारु  महिला सभाकी केन्द्रीय सचिव शुशीला चौधरी लगायतको टोलीले पोखरीमा रहेको उत्त मूर्ति हटाउन माग गरेका छन् ।  सोमबार सोही मूर्तिलाई तत्काल हटाउन माग गर्दै थारू कल्याणकारिणी सभा इटहरी उपमहानगर ४ कमिटिले  इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र वडाध्यक्ष भक्त लामालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।  

थारु जातिले राखेको मागलाई कार्यपालिकामा राख्ने र थयोचित निर्णय लिने मेयर हेमकर्ण पोडेलले आश्वासन दिएको थारु कल्याणकारिणी महिला सभाले बताएको छ ।