काठमाडौँः हालै मात्र मार्वग भाइरसको कारण घानामा दुईजनाको ज्यान गएको छ भने महामारी फैलिने डरले आशंकित ९८ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ ।

तीव्र गतिमा सर्ने यस रोगको कारण ज्वरो आउने, मांशपेसी दुख्ने र बान्ता हुने गर्दछ । कुनैकुनै बेला एक्कासी शरीरमा रगतको चरम अभावका कारण बिरामीको मृत्यु नै हुन्छ । 

विगतमा यस भाइरसको कारण सयौँ मानिसको मृत्यु भइसकेको छ । विशेषगरी अफ्रिकामा । 

यो इबोला भाइरस समूहमा पर्छ । पहिलो पटक सन् १९६७ मा यस भाइरसको पहिचान हुँदा संक्रमित ३१ मध्ये ७ जनाको ज्यान गएको थियो । 

मार्वग पहिलोचोटि अफ्रीकामा हरिया बाँदरले ल्याएका थिए । युगान्डाबाट आएका हरिया बाँदरहरूमा यसको महामारी फेला परेको थियो । त्यसयता यो भाइरस अन्य जनावरहरूसँग पनि जोडिएको छ । 

मानिसमा भने चमेरो बस्ने गुफा तथा खानीका सुरुङमा लामो समय बसेका मानिसहरूबाट सरेको हुनुर्ने अनुमान गरिएको छ । 

यसअघि मर्वग प्रजातान्त्रिक गणतन्त्र कंगो, केन्या, दक्षिण अफ्रिका, युगान्डा, र जिम्वावेमा पनि भेटिएको थियो । 

सन् २००५ मा अंगोलामा यो महामरीको रूपमा फैलिँदा तीन सयजना भन्दा बढी मानिसको ज्यान गएको थियो । तर, विगत चालिस वर्ष लामो अवधिमा अमेरिका र युरोपमा क्रमशः एक÷एक जनाको मात्र ज्यान गएको छ । 

सुरुमा बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने र मांशपेसीमा पिडा हुने जस्ता लक्षण देखिन्छन् । तीन दिनपछि पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने गर्दछ । 

विश्व स्वास्थ्य संगठनका अनुसार यसबाट संक्रमित बिरामीको आँखा भित्रसम्म गडेका हुन्छन् । अनुहारमा कुनै भाव नै हुँदैन । अत्यन्तै थकित देखिन्छन् । 

संक्रमण भएको आठदेखि नौ दिन सम्ममा शरीरका विभिन्न अंगहरूबाट रक्तश्राव हुन थाल्छ । अत्यधिक रक्तश्रावका कारण बिरामीको मृत्युसमेत हुन सक्छ । 

डब्ल्यूएचओका अनुसार यसको लागि कुनै औषधि र खोप बनिसकेका छैनन्, तर रोग प्रतिरोधात्मक थेरापी, औषधि तथा रक्तजन्य उत्पादनको विकास गरिँदैछ । 

लामो समयपछि पनि रगत र वीर्यमार्फत यो भाइरस सर्न सक्छ । खोप निर्माण कार्यमा जुटिरहेको अन्ततर्राष्ट्रिय संगठन ‘गाभी’ले अफ्रिकामा रहेका मानिसलाई झाङमा बस्ने जनावरका मासु नखान सचेत गराएको छ ।

संक्रमित भइसकेका पुरुषहरूलाई दुईपटक सम्म वीर्य परीक्षणमा भाइरस नेगेटिभ नदेखिएसम्म वा एक वर्षसम्म कन्डम प्रयोग गर्ने सल्लाह दिइएको छ । यसको कारण मर्नेको शव पनि नछुन सल्लाह दिइएको छ । -बीबीसीबाट