इटहरी: खाइपाई आएको जागिर अचानक गुम्नु कसैका लागि पनि खुसीको विषय हुन सक्दैन । गुमिसकेपछि न त रोइकराई गरेर नै जागिर मिल्छ न त कसैलाई नमस्कार गरेर नै ।  योग्यता र क्षमता हुनेभन्दा पहुँच हुनेको प्रभाव हुने ठाउँमा त्यति सजिलै जागिर पाउन पनि त अवश्य पनि सकिँदैन नै । करारका कर्मचारीको म्याद नथप्ने भन्दै नगरपालिकाले निकालेको सूचीमा नाम अटाएपछि इनरुवमा कि अनुषा बर्माले अब जागिर खोजेर पाउने ठाउँ त्यत्ति नभएको निस्कर्ष निकालेकी छन्  । शुक्रबारबाट इनरुवा नगरपालिकाको गेटमा सुरु भएको रिले अनसनमा आफ्नो सानो अढाई वर्षको नानीलाई काखमा च्यापेर अनसनमा बसेकी अनुसाको अनुहारमा पीडाभावका प्रशस्त रेखाहरु कोरिएका थिए ।

४ वर्षदेखि इनरुवा नगरपालिकामा काम गर्दै आएको बताउने अनुषाले विगत १ वर्षको मात्र तलब पाएको र ३ वर्ष निःशुल्क काम गर्नुपरेको गुनासो प्रदेश पोर्टलसँग गरिन् । इनरुवा नगरपाकिलाको वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्ने अनुषा बर्माका श्रीमान पनि बेरोजगार छन् । परिवार चलाउने उनको एउटा सानो जागिर थियो, त्यो पनि करार नवीकरण नहुने भएपछि सकिएको छ । आन्दोलन गरेर के हुन्छ त्यो त अनुशालाई थाहा छैन, तर यो साउनको चर्को घाममा नगरपालिकाको गेटअगाडि कालो फेटा निधारमा बाँधेर साथीहरुसँग एकैलयमा अनुषा पनि गाउँदै थिइन् ‘वकिल साहेब न्याय दे ! न्याय दे !’

r2

कोरोना कालदेखि तलब र कोरोना भत्तासमेत पाउने भन्दै काम गरेकी अनुषाले १ वर्षको मात्र तलब पाएको बताइन् । ‘पहिला काम लगायो, पछि भ्याकेन्सी खोलेर नियुक्ति दिएपछि मात्र तलब दियो ।’  बर्माले प्रदेश पोर्टलसँगको कुराकानीमा भनिन् । त्योभन्दा पहिला कुन ध्येयले अनुषाले काम गरेकी थिइन् र कसले तलब नदिइकनै काममा लगाएको थियो ? त्यो भने खुल्न सकेन । प्रदेश पोर्टलले सत्यतथ्य बुझ्ने क्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलालाई गरेको टेलिफोन सम्पर्कको प्रयास सफल हुन सकेन । नगरपालिकाका सूचना अधिकारी इन्जिनियर निरज पोखरेलले नियुक्तिपत्रबिना नै काम गर्नु कामदारकै गल्ति भएको बताए ।  

करारमा रहेका कर्मचारीको म्याद नथप्दा अहिले मुलुकका धेरै स्थानीय पालिकामा काम गर्ने कर्मचारीहरुको जागिर गुमेको छ । त्यही पीडामा छन् इनरुवा नगरपालिकाका ५७ जना करारका कर्मचारी पनि । करारमा रहेका १६७ जना कर्मचारीमध्ये नगरपालिकाले ५७ जना कर्मचारीहरुको सूची प्रकाशन गरेर निष्कासन गरेको सूचना जारी गरेपछि उनीहरु निरन्तर आन्दोलनमा लागेका छन् । हिजो बिहीबारसम्म कि सबैलाई निकाल्नुपर्ने कि सबैलाई राख्नुपर्ने भन्दै करारका कर्मचारीहरुले नगरपालिकाका १० वटा वडामा ताला नै लगाएर आन्दोलन गरिरहेका थिए । वकालत पेसामा रहेका केदार भण्डारी इनरुवा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि कर्मचारीहरुको आन्दोलन चर्किएको यो नै पहिलो घटना हो । निष्कासित भएका कर्मचारीले वकिल साहेव न्याय दे भन्दै मेयर भण्डारीसँग न्याय माग गरेका छन् । 

इनरुवा नगरपालिकाका सहायक कम्प्युटर अपरेटरको रुपमा काम गर्दै थिए इनरुवाका नवराज सिंह पनि । अहिले उनको पनि जागिर गुमेको छ । कि सबैलाई निकाल कि सबैलाई काम देउ भन्ने इनरुवा नगरपालिकाका करार कर्मचारीहरुको नारा शुक्रबारबाट ‘हामीलाई पनि ३ महिना भए पनि म्याद थप गर । नयाँ भ्याकेन्सीमा हामी पनि आवेदन दिन्छौँ अनि नथप्ने भए सबैको म्यान नथप ’ भन्नेमा पुगेको छ । बिहीबार नगरकार्यपालिकाको बैठक बसेर बाँकी भएका करार कर्मचारीको म्याद ३ महिना थप्ने र लोकसेवामार्फत् कर्मचारी पदपूर्ति गर्ने र करारका कर्मचारी नराख्ने निर्णय गर्दै सम्पन्न भएको थियो । सो निर्णयसँगै निकालिएका कर्मचारीहरुले ३ महिना अरुको थप्दा आफूहरुको पनि ३ महिना थप्नु पर्ने माग राखेका हुन् । 

‘बाँकी कर्मचारीको तीन महिना मात्र म्याद थप गर्ने भनेर भनियो तर कसरी पत्याउने ? यसैबीच चाडवाड आउँदैछ, चुनाव आउँछ अनि यस्तै गर्दै १ वर्ष त बितिहाल्छ ।’ वडा नम्बर १० मा सहायक कम्प्युटर अपरेटर पदमा काम गर्ने नवराज सिंह भन्दै थिए । नक्कली जन्मदर्ता बनाएर किर्ते गर्ने कर्मचारीलाई वडाले कारबाहीको लागि सिफारिस गरेर पठाउँदा पनि नगरपालिकाले कारबाही नगरेको बरु उसको करारनामा नवीकरण गरेर आफूहरुलाई मात्र निकालेको उनले बताएका छन् । मेयर केदार भण्डारीले आफ्नो मान्छे भएकै कारण गलत काम गर्नेलाई समेत जोगाएको बताइएको छ । करार कर्मचारीको म्याद नथप्ने निर्णय भएपछि आज छैटौँ दिन पनि आन्दोलन जारी नै रहेको छ ।