इटहरीः लगातार सप्तकोसी नदीमा आएको बाढीका कारण कोसीले कटान सुरु गरेपछि सुनसरीको बराहाक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टापु बाढीको उच्च जोखिममा परेको छ ।  

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ८ डुम्रीबोटेमा बाढीले तीव्र रूपमा कटान सुरु गरेपछि बेलका, चौदण्डी र सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकाका बस्तीसमेत जोखिममा छन् ।  पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले यी क्षेत्रलाई जोखिममा राखेको हो । कोसीले दैनिक रूपमा ३ देखि ५ मिटरसम्म भूभाग कटान गरिरहेको स्थानीयले बताएका छन् ।

कोसी कटानको जोखिमका बीच बिहीबार डुम्रीबोटेस्थित कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न वराहक्षेत्रका नगरप्रमुख रमेश कार्की पुगेका थिए । निरीक्षणमा नगरप्रमुख कार्कीसहित प्रमुख प्रशासकीय देवेन्द्र मल्ल, वडा नं ६ का वडाध्यक्ष उद्धवप्रसाद पोखरेल, लेखा अधिकृत वीरेन्द्र यादव, प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई तथा नगर प्रहरीको टोलीसमेत रहेको थियो । 

स्थलगत निरीक्षण गरेका नगरप्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल दीर्घकालीन योजना बनाएर काम गर्ने आश्वासन स्थानियलाई दिएका थिए ।  जनता बचाउने कार्यमा स्थानीय सरकार लागेकाले कटान नियन्त्रणका लागि नगरपालिकाले प्रदेश सरकार, संघीय सरकार र बिहार सरकारसँग विशेष पहल गर्ने मेयर कार्कीले बताए ।

कोसी नदीले हालसम्म ४०–५० बिघा जमिन कटान गरिसकेको स्थानीयको भनाइ छ । लामो समयदेखि कोसी कटानको नियन्त्रणका लागी काम भइरहे पनि प्रभावकारी र दीगो हुन सकेको छैन । स्थानीयहरू प्राकृतिक रूपमा कटान नियन्त्रण गर्ने प्रयासमा छन् भने सरकार पनि बोरा लगाउने, गिट्टी लगाएर कोसी कटान नियन्त्रणको कार्य गरिरहेको छ । 

बाढीले सप्तकोसीको  पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय बताउँछन् । कटान नियन्त्रणलाई प्रभावकारी बनाई बस्ती संरक्षण गरिदिनुपर्ने स्थानीयहरूको माग छ । पूर्वी तटबन्धमा बगिरहेको सप्तकोसी पश्चिमतर्फ फर्किएपछि बस्ती जोगाउनै समस्या पर्न थालेको स्थानीयहरू बताउँछन् । 

२ वर्षयता सप्तकोसीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलङ्का टप्पुको २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमाउनु परेको छ भने १ सयभन्दा बढी परिवार र एउटा विद्यालयसमेत विस्थापित भइसकेको छ ।