धरानः लामो समयदेखि सँस्थागत विद्यालयले मनोमानी रुपमा अत्याधिक शुल्क असुल गरेको अभिभावकका गुनासो थियो । सो गुनासोका विषयमा धरान उपमहागरले विद्यालयका सञ्चालक र अभिभावकसँग अन्तरक्रिया गरेको छ ।
आइतबार धरान १२ स्थित होटल पूर्वीस्टारमा उपमहानगरपालिका, विद्यालय सञ्चालक र अभिभावकबीच त्रिपक्षीय छलफल भएको हो । विशेषतः विष्णु मेमोरियल स्कुल, केके इन्टरनेसनल र युरेकाले अधिक शुल्क लिएको गुनासो अभिभावकबाट आएका थिए । यी ३ विद्यालयमा धरानका मेयर हर्क साम्पाङले अभिभावकसहित अनुगमन पनि गरेका थिए । अन्तरक्रिया गर्नुभन्दा पहिले वास्तविकता जानकारी हुनुपर्ने भन्दै अनुगमन गरिएको थियो ।
अन्तरक्रियाका क्रममा अभिभावक विनोद मिमल्सिनाले विद्यालयले स्कुलको पोसाक, झोलादेखि किताबसम्म सिन्डिकेट राखेको बताए । उनले एउटै क्षेत्रमा कुद्ने गाडीको भाडामा पनि एकरुपता नहुने गरेको बताए । एक अभिभावकले डे बोडर्स राख्न नसक्दा केके इन्रनेसनल स्कुलबाट बच्चा अन्य विद्यालयमा स्थानान्तरण गर्नुपरेको बताएका थिए । कोरोनाको समयमा शुल्क नतिरेको भन्दै अनलाइन कक्षा प्रवेश नगराएको र जर्बजस्ती डे बोडर्स राख्न दबाब दिएपछि स्कुल नै परिवर्तन गर्नुपरेको गुनासो पनि अभिभावकहरुले गरे । विद्यालयले सुविधा नदिई कम्प्युटरको भन्दै शुल्क लिने गरेको पनि केही अभिभावकले बताए । स्थानीय सरकारले कडाइका साथ अनुगमन नगर्दा पनि निजी विद्यालय सञ्चालकहरुको एकाधिकार कायम हुन गएको भन्दै अभिभावकहरुले ध्यानाकर्षणसमेत गराए ।
विष्णु मेमेरियल स्कुलका प्रिन्सिपल विनेन्द्र कट्वालले शिक्षक कर्मचारीलाई सरकारी मापदण्डमा तलबभत्ता खुवाउनका लागि शुल्क अन्य स्कुलभन्दा बढी लिएको बताए । उनले भने, ‘अन्यभन्दा बढी नै छ ।’ केके स्कुलबाट प्रिन्सिपल उपस्थित भएपनि जिम्मेवार व्यक्ति उपस्थित नभएको बताएका थिए । युरेका स्कुलका प्रतिनिधिले भने शौचालयका विषयमा गुनासो आउने गरेको बताएका थिए । अन्य सँस्थागत विद्यालय सञ्चालकहरुले पनि स्कुल नियमअनुसार नै चलेको दाबी गरे । उनीहरुले विद्यालय सञ्चालन, शिक्षक कर्मचारीको तलब वृद्धिलगायत खर्चको लागि शुल्क लिइएको प्रष्टीकरण दिएका थिए । केही स्कुल सञ्चालकहरुले आफूहरुलाई अपराध गरेकोझैं स्थानीय सरकार र अभिभावकहरुले ठान्ने गरेको गुनासो गर्दै जुन स्कुलमा समस्या हो, त्यही अभिभावक र स्थानीय सरकारको शिक्षा महाशाखा पुगेर समाधान गर्न पनि उनीहरुले सुझाव दिएका थिए ।
शुल्कको विषयमा विद्यालय र अभिभावकहरुबीच आपसी समझदारी गरेर लिएमा समस्या नहुने सुझाव पनि केही विद्यालय सञ्चालकहरुले दिएका थिए । मेयर साम्पाङले नीति बनाउँदा सरोकारवाला निकायहरुसँग राय, सुझाव लिन आवश्यक भएकोले छलफल आयोजना गरिएको बताए । उनले सबैको राय, सुझाव लिएर साथै समस्याहरुको पहिचान र समाधानको उपाय पनि खोजेर नै आवश्यक नीति, नियम बनाउने पनि बताए । त्रिपक्षीय छलफलका क्रममा धरानको पब्लिक हाई स्कुलका विषयमा प्रश्न उठेको थियो । नमुना विद्यालय पब्लिक हाई स्कुलले शुल्क लिन नपाउने कानूनी प्रावधान भएपनि लिइरहेको विषयमा अभिभावकले उपमहागरलाई प्रश्न गरेका थिए । साथै पब्लिकले सामसदायिक विद्यालयको छानामुनी निजी विद्यालय सञ्चालन गरेको पनि उनीहरुले बताए । उपमहानगरका अधिकृत मनोज भट्टराईले पर्याप्त नभएका कारणले शुल्क लिएको संरक्षणात्मक जवाफ दिएका थिए । उनीहरुलाई अनुगमन गर्ने पनि उनले बताए ।