धरानः धरान उपमहानगरपालिकाको कार्यकक्षमा बराह सहकारीका पीडितहरुबाट गएको आइतबार तोडफोड भएपछि भीडलाई उत्तेजित पारी तोडफोड गराएको आरोपमा दुई जनाविरुद्ध नगरप्रमुख हर्क साम्पाङले किटानी जाहेरी दर्ता गराएका छन् ।
मेयर साम्पाङले भीडलाई उत्तेजित बनाई तोडफोडमा उतार्ने कार्यमा संलग्न रहेको भन्दै बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बास्तोला तथा संयोजक खगेन्द्र नेपालीविरुद्ध हिजो सोमबार जाहेरी दर्ता गराएका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले अभियुक्तद्वय बास्तोला र नेपालीविरुद्ध जाहेरी परेकाो पुष्टि गरे । नेपाली धरान–१५ मा बस्छन् भने बस्तोला धरान १ मा बस्छन् । आइतबार बराह बचत तथा ऋण सहकारी सँस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय गएका थिए ।
पीडितहरू आफूहरुले बराह सहकारीविरुद्ध दिएको उजुरीमाथि के कसरी कारबाही भइरहेको छ भनेर बुझ्न र चाँडो न्यायका लागि दबाव दिनका पगेका थिए । सोही क्रममा प्रमुख राईले पीडितहरूलाई 'किन उफ्रनुभएको ? किन आउनुभएको हो ? तपाईंहरूले पैसा मलाई सोधेर राख्नुभएको थियो र ? आफ्नै हिसाबले गर्नू, म केही गर्दिन' भनेपछि भीड अनियन्त्रित भएको थियो । प्रमुख राईले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले माफी मागी शब्द फिर्ता लिन माग गर्दै अनियन्त्रित भीडले नगर प्रमुखको कार्यकक्षमा प्रवेश गर्दै तोडफोड गर्दा राई बस्ने कार्यकक्षको झ्यालको सिसा फुटेको थियो ।