इटहरीः सप्तकोसी नदीको बाँध फुटेको उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सरकारी अनुगमन टोली पुगेको छ ।

टोलीमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीका साथै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सम्मिलित रहेका छन् । यसका साथै बाढीप्रभावित स्थानीय तहहरुका पालिका प्रमुखहरुले समेत कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । सबै सरोकारवाला निकायका प्रतिनिधि उपस्थित रहेकाले विपद् व्यवस्थापन समितिको बैठक कटान क्षेत्रमै बसेर राहत, उद्धार तथा बाढी प्रभावितहरुको व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरिने मन्त्री कार्कीले जानकारी दिए ।

297470409_307570654866032_7136888494464791048_n

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । बिहान करिब ४ः०० बजे उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटे लाहुरे खोजबाट पश्चिमतर्फ बाँध फुटाएर पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए । कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र बराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ ।

296450632_459957529401655_8482710103985112116_n

जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । २०३० सालमा पनि सत्तकोसी नदी सोही धारमा बगेको थियो । बाढीबाट दुई हजार तीन सय परिवार विस्थापित हुने अवस्थामा पुगेको नगरपालिका बताउँछ । बाढीबाट २० हजार मानिस प्रभावित भएकोमा पाँच हजारलाई उद्धार गरिएको छ ।