धरानः बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बास्तोला पक्राउ परेका छन् ।

बुधबार इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले प्रवक्ता बास्तोलालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार धरान उपमहानगर हर्कराज साम्पाङले प्रवक्ता बास्तोला र समितिका संयोजक खगेन्द्र नेपालीविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरुविरुद्ध अदालतले मंगलबार नै पक्राउ पुर्जी जारी गरेको थियो । संयोजक नेपालीको खोजी कार्य भइरहेको डीएसपी श्रेष्ठले बताए ।

उनले बिहीबार म्याद थप प्रक्रिया अघि बढाउने बताए । उनका अनुसार उनीहरुउपर मुलुकी संहितको दफा २६ अनुसार अुनसन्धान हुनेछ । आइतबार बराह बचत तथा ऋण सहकारी सँस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय पुगेका थिए । कार्यालय परिसरमा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राखेको थियो र ?’ भनेपछि भीड अनियन्त्रित भएको थियो । मेयर साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले र माफी मागी शब्द फिर्ता लिन माग गर्दै अनियन्त्रित भीड नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्दै तोडफोडसमेत गरेका थिए । तोडफोड गर्दा मेयर राईको कार्यकक्षको झ्यालको सिसा फुटेको थियो ।