विराटनगरः सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं. १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् । उनले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन दिएका छन् । तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं. १ सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राई अहिले कोभिड–संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका छन् ।