धरान: सामाजिक सञ्जालको दुरुपयोग गरी दलित समु्दायलाई अपमानजन्य शव्द प्रयोग गरी गालीगलौज गर्नेलाई छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयसँग माग गरिएको छ ।
बुधबार विश्वकर्मा युवा समाज धरानले इलाका प्रशासन कार्यालय धरान सुनसरीमार्फत् जातीय भेदभावजन्य गालीगलौज गर्नेलाई कारबाहीको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो । इलाका प्रशासन कार्यालयले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध शाखालाई ज्ञापनपत्र पठाइसकेको छ । समाजका अध्यक्ष युवराज शंकरले मुलुकमा कुनैपनि घटनामा दलित समुदाय र व्यक्तिलाई लक्षित गरी तल्लो स्तरका टिकाटिप्णी गर्ने दर बढेकाले नियन्त्रण गर्न माग गरी ज्ञापनपत्र पठाएको बताए ।
ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराईले कुनै घटनामा समुदायकेन्द्रीत आलोचना गर्नु राम्रो नभएको बताए । उनले छानबिन गरी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए । समाजले जारी गरेको विज्ञप्तिमा समाज र सामाजिक सञ्जालमा दलित समुदायलाई लक्षित गरी तल्लोस्तरका नकारात्मक टिकाटिप्पणीले आम दलित समुदायको आत्मसम्मानमा ठेस मात्र पुगेको छैन, यस किसिमका घटनाले समाजलाई नै विखण्डनतिर लगी जातीय द्वन्द्व भड्किने सम्भावना बढेर गएको उल्लेख छ ।
विज्ञप्तिमा यस्ता घटनामा कमी हुनुपर्नेमा दिनानुदिन बढेर गएको निष्कर्ष निकाल्दै समाज कतातिर जाँदैछ भन्ने पनि गम्भीर प्रश्न उठेको उल्लेख छ । बराह बचत तथा ऋण सहकारी बचतकर्ताको रकम संकटमा परेकामा समाजले चिन्ता व्यक्त गरेको छ । बराह पीडितहरुको विषयमा धरान उपमहानगरको कार्यालयमा भएको घटनामा चिन्ता व्यक्त गर्दै सहकारी स्थानीय सरकार क्षेत्राधिकारमा पर्ने भएकाले सहज अवतरणका लागि अनुरोध गरेको छ । साथै सामाजिक सञ्जालको व्याप्त दुरुपयोग गरी समाजलाई असर पु¥याउने कार्यलाई नियमनकारी निकायले नियन्त्रण नगरेको जनाएको छ ।