इटहरीः परराष्ट्रमन्त्री नारायण खड्काले सप्तकोसी नदीको बाँध फुटेको उदयपुरको बेलका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्का बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको उदयपुरको बेलका नगरपालिकाको भ्रमणमा पुगेका हुन् । त्यहाँका स्थानीयहरुसँग कुरा गर्दै मन्त्री खड्काले कोसी पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सम्पूर्ण शक्ति अहिले प्रभावित क्षेत्रमा खटिएको बताएका छन् । 

’मैले भर्खरै मात्र गृहमन्त्रीलाई फोन गरेँ। अहिले पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सबै शक्ति यहाँ आएको छ,’ खड्काले भने । साथै उनले अब कोसीको बहाव घटेपछि बाँध लगाउने सुरु हुने आश्वासनसमेत दिए । मन्त्री खड्काले भने, ’कोसीको बहाव घटेपछि फेरि म आउँछु र राम्रो डिजाइन गरेर कति खर्च लाग्छ?, हामी स्थानीय र बाह्य स्रोतसाधन प्रयोग गरेर नदीमा बाँध बाध्ने काम गर्छौँ ।’

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । बिहान करिब ४ः०० बजे उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटे लाहुरे खोजबाट पश्चिमतर्फ बाँध फुटाएर पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए ।

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कञ्चनरुप र बराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ । जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । २०३० सालमा पनि सत्तकोसी नदी सोही धारमा बगेको थियो । बाढीबाट दुई हजार तीन सय परिवार विस्थापित हुने अवस्थामा पुगेको नगरपालिका बताउँछ ।