इटहरीः सप्तकोसी नदीको बाँध फुटेपछि बाढीबाट प्रभावित भएका उदयपुरका स्थानीयको उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । प्रजिअ यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको छ भने उद्धार तथा राहत कार्य निरन्तर जारी छ । ‘बाढीमा फसेकाहरूको उद्धार कार्य बिहानैबाट जारी रहेको छ । साँझसम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ’, प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् ।’

296263063_1109839566638064_7853811076211635012_n

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । बिहान करिब ४ः०० बजे उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटे लाहुरे खोजबाट पश्चिमतर्फ बाँध फुटाएर पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए ।

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कञ्चनरुप र बराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ । जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । २०३० सालमा पनि सत्तकोसी नदी सोही धारमा बगेको थियो । बाढीबाट दुई हजार तीन सय परिवार विस्थापित हुने अवस्थामा पुगेको नगरपालिका बताउँछ ।