इटहरीः बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवाादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुविवाह मुद्दाका अभियुक्त सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. २ बस्ने ३६ वर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उप–महानगरपालिका वडा नं. २० देवीगाउँ बस्ने २८ वर्षीय रामसरण राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । अभियुक्त पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई अदालतबाट कैद भुक्तानको लागी कारागार पठाइएको छ । प्रतिवादी शुशिल पोदार भएको बहुविवाह मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७७ असार ०१ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना १० दिन कैद र रु.१५ हजार रुपैयाँ जरिवाना भएको थियो । यसैगरी, प्रतिवादी रामसरण राई भएको सवारी ज्यान मुद्दामा मोरङ  जिल्ला अदालतको मिति २०७८ पुस २८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला भएकोमा अभियुक्तहरु फरार रहेका थिए ।