इटहरीः भारतको बिहार राज्यका जल संसाधन मन्त्री सन्जयकुमार झाले सुनसरीको कोसी बराजको निरीक्षण गरेका छन् ।

यस क्रममा उनले सुनसरीमा रहेको कोसीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोसी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् । सप्तरीका प्रजिअ जनार्दन गौतमका अनुसार उनी सप्तरी पनि पुग्न सक्ने भएकाले सप्तरीको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ ।

उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटे लाहुरे खोजबाट पश्चिमतर्फ बाँध फुटाएर पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए ।

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कञ्चनरुप र बराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ । २०३० सालमा पनि सत्तकोसी नदी सोही धारमा बगेको थियो । बाढीबाट दुई हजार तीन सय परिवार विस्थापित हुने अवस्थामा पुगेको नगरपालिका बताउँछ । बाढीबाट प्रभावितहरुको उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालित छ । केही दिनयता कोसीको बहाब बढेपछि बराजमा रहेका ५६ मध्ये ४६ वटा गेट खुला गरिएको छ ।