धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदीले उजुरी दिएकी छन् ।

बिहीबार मेयर साम्पाङले प्रयोग गर्ने फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभोलुसन’ को नाममा साइबर ब्युरोमा जाहेरी दिएको केन्द्रीय सदस्य भण्डारीले बताइन् । धरानमा पत्रकार सम्मेलन गर्दै पटकपटक नगरप्रमुख राईले फेसबुकमार्फत् फोटो दुरुपयोग गरी आफ्नो चरित्रहत्या गर्ने तथा अपमान गर्ने कार्य गरेकाले जाहेरी दिन बाध्य भएको बताइन् । उनले भनिन्, ‘पहिले पनि मेरो फोटो दुुरुपयोग गर्दा सुझाव दिएँ । पहिलो पटकमा नै नगरप्रमुखलाई मुद्दा हालिहाल्न राम्रो होइन भनेर सुझाव दिएँ ।

गल्ति भएछ भनेर माफी माग्नु त कहाँ हो कहाँ पुनः योजनाबद्ध रुपमा चरित्र हत्या गर्ने र सामाजिक सद्भाव भड्काउने कार्य गरेकाले उजुरी दिन बाध्य भएँ ।’ उनले आफ्नो फेक आइडी सिर्जना गरी स्कृन सट गरी पोष्ट गरेको बताइन् । उनले छिटो न्यायका लागि साइबर ब्युरोमा जाहेरी दिएको बताइन् । बिहीबार हर्क साम्पाङको फेसबुक अ रेभुलोसनमा मञ्जु भण्डारीको फेसबुकमा स्टाटस लेखिएको फोटो राखेर पोस्ट गरिएको थियो । भण्डारीले मेयर साम्पाङले आफ्नो चरित्रहत्या गर्न जातीय सद्भाव भट्काउने कार्य गरेको बताइन् । उनले मेयर साम्पाङले स्कृन सट गरी पोस्ट गरेको फेसबुक आफ्नो नभएको र प्रमुख साम्पाङले नै एप्लिकेसन प्रयोग गरी उत्पादन गरेको दाबी गरिन् । उनले पहिलो पटक मेयर साम्पाङको फेसबुकमा पोस्ट भएको हुनाले पनि राईले नै जिम्मेवारी लिनुपर्ने बताइन् ।