इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अनिल बराइली रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हिजो राति १ तला भएको पक्की घरमा रहेको औलिया ज्वेलर्समा घरपछाडि काठको ढोकाको कब्जा फुटाई लकरबाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएको थियो । घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो २ः३० बजे चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराइलीको घरकोठाभित्र खानतलासी गर्दा दराजपछाडि कालो झोलामा लुकाइछिपाई राखिएको चोरीको सुनका गरगहनाहरु  ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोला गरी अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो । चोरिएका सुनको गरगहनाहरु बरामद भएसँगै अभियुक्त बराइलीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।