इटहरीः धरान उपमहानगरपालिकाका मेयरले हुलदङ्गा गरी नगरप्रमुखको कार्यालयमा तोतफोडको नेतृत्व गरेको भन्दै उजुरी दिएपछि  बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली आइतबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले नेपालीलाई आइतबार भानुचोकस्थित बसपार्क क्षेत्रबाट आज पक्राउ गरेको बताएको छ । धरानका मेयर हर्क साम्पाङ्गले नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलाविरुद्ध किटानी जाहेरी दिएपछि बास्तोला यसअघि नै पक्राउ परिसकेका छन् ।  

बस्तोला र नेपालीले बराह पीडितलाई उक्साएर मेयरका विरुद्ध नाराबाजी गर्नुका साथै तोडफोडको नेतृत्व गरेको आरोपमा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जीसमेत ल्याएको थियो ।

संघर्ष समितिको अगुवाइमा भएको जम्मा भएको बराह सहकारी पीडितहरुको भीडले  धरान उपमहानगरपालिकाका मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाविरुद्ध नाराबाजी गरेका थिए भने मेयरको कार्यकक्षको सिसा पनि फोडिएको थियो । मेयर साम्पाङ्गले भने आफ्नो कार्यकक्षको सिसा फोडिनु भनेको धरान सरकारका विरुद्ध आक्रमण गरिएको बुझिने टिप्पणी गरेका छन्  ।

सोही घटनाको विकसित घटनाक्रमअनुसार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गविरुद्ध धरानकी निवर्तमान उपमेयर तथा एमाले नेतृ मञ्जु भण्डारीले साइबर अपराधको मुद्दा हालेकी छन् ।