धरानः सामाजिक सञ्जालमार्फत् दलित समुदायलाई गालीगलौज गर्नेहरुलाई कारबाहीको माग गर्दै गृह मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ ।
आइतबार इलाका प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको हो । सामाजिक सञ्जालमा धरानकी रोजिता राई र काठमाडौँ ठेगाना भएका लेखक राईले धम्कीपूर्ण भाषामा गाउँ कटाउने सम्मका चेतावनी दिएकोप्रति आपत्ति व्यक्त गर्दैै १४ वटा सङ्घसंस्थाले गृह मन्त्रालयमा ध्यानाकर्षणपत्र पठाएका हुन् । ध्यानाकर्षणपत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुणराज भट्टराईले मन्त्रालयमा पत्र पठाउने र जातीय गालीगलौज गर्नेलाई नियन्त्रण गर्न लाग्ने बताए ।
उत्पीडित जातीय मुक्ति समाज सुनसरी, नेपाल उत्पीडित जातीय मुक्ति समाज धरान, नेपाल दलित संघ धरान, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा– धरान, नेपाल दलित मुक्ति संगठन धरान, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति धरान, राप्रपानिकट रा.प्र उत्पीडित संगठन धरान, परियार सेवा समाज धरान,. श्री विश्वकर्मा कल्याण सेवा समिति धरान, मिजार सेवा समाज धरान, मरिक सेवा समाज धरान, दलित विकास समिति धरान, दलित महिला सञ्जाल धरान र विश्वकर्मा युवा समाज धरानले संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
नेपालको जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को धारा ४ को उपधारा १२ अनुसार कसैले श्रव्य–दृश्य सामग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गर्नु अपराध मानिन्छ । संविधानको बर्खिलाप गर्दै दलित समुदायमाथि जातिगत रुपमा लाञ्छना लगाई गालीगलौजमा उत्रिएका रोजिता राई, लेखक राईसहित उनीहरुको स्टाटसमा जातिगत लाञ्छना लगाउँदै कमेन्ट गर्ने व्यक्तिहरुलाई पनि विद्युतीय कारोबार ऐनबमोजिम कानुनी कठघरामा उभ्याई तत्काल कारबाहीको माग गरिएको छ ।