इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानकी पूर्वउपप्रमुख मञ्जु भण्डारी नामको फेसबुक आईडीबाट जातीय सद्भाव भड्काउने मनसायको पोस्ट आएको भन्दै त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मेयर साम्पाङ्गले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीको नामबाट चलेको फेसबुक आईडीमा पोस्ट भएको स्टाटसले सामाजिक एकता र सद्भाव खल्बल्याउन खोजेको भन्दै पछिल्लो गतिविधिबाट कोही पनि नगरवासीहरु विचलित नहुन र आवेशमा आएर कसैप्रति लक्षित गरी कुनै असामान्य प्रतिक्रिया नगर्न आग्रह गर्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
मेयर साम्पाङ्गले नगर सरकार सम्पूर्ण जाति, भाषी, धर्म, वर्ग र लिङ्गको भावनालाई समेटेर धरानको समग्र विकास र समृद्धिको निम्ति प्रतिबद्ध रहेको बताउँदै मञ्जु भण्डारी नामको फेसबुक आईडीबाट जातीय सद्भाव भडकाउने मनसायको फेसबुक स्टाटस लेख्नेलाई सत्यतथ्य छानबिन गरी कानूनको दायरामा ल्याएर हदैसम्म कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । उनले आगामी दिनमा यस खालका गतिविधिहरुक कोही कसैले नगर्न पनि सार्वजनिक अपिल गरेका छन् ।