ताप्लेजुङः ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४ वर्षमा २ करोड हाराहारी भेटी सङ्कलन भएको छ ।
२०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु १ करोड ७२ लाख १५ हजार ५ सय ४६ पुगेको पाथीभरा भेटीपाती व्यवस्थापन समितिले जनाएको छ ।
पछिल्लो पाँच महिनाको भेटी रकम गणनापछि सोमबार पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुनचाँदी नापतौल गर्न भने बाँकी छ । पछिल्लो ५ महिनामा मात्रै ५३ लाख रुपैयाँभन्दा बढी भेटी रकम जम्मा भएको छ ।
समितिका अनुसार हालसम्मको सबै रकम बैंकमा जम्मा गरिसकिएको छ । पछिल्लो एक वर्षको ८० क्वीन्टल सिक्कासमेत सङ्कलन गरी सदरमुकाममा ल्याउने काम भइरहेको समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए । ८५ हजार ३ सय ९० भारतीय रुपैयाँ सटही गर्न बाँकी रहेको समितिको भनाइ छ ।