झापाः झापाको मेचीनगर–६ काँकरभिट्टा बस टर्मिनल परिसरमा २१ लाख रुपैयाँभन्दा बढीको लागतमा वाटर फाउण्टेन पार्क बन्ने भएको छ । सो पार्कको आज शिलान्यास भएको छ ।

काँकरभिट्टा बसपार्क सौन्दर्य तथा वाटर फाउण्टेन पार्क निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले सो पार्कको आज शिलान्यास गरे ।

मेचीनगरको वडा नम्बर ६ को १५ लाख रुपैयाँ तथा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ४ लाख ५० हजार र जनसहभागिताबाट २ लाख १६ हजार रुपैयाँको आर्थिक सहयोगमा वाटर फाउण्टेन पार्क निर्माण हुने भएको हो । उपभोक्ता समितिका सचिव रविन भट्टराईका अनुसार आगामी दुई महिनाभित्र उपभोक्ता समितिमार्फत् उक्त कार्य सम्पन्न हुने छ ।

पार्कमा पानीका फोहोरा, बगैंचा तथा लाइटिङको व्यवस्था गरिने भएको छ । सो कार्य सम्पन्न गर्न राजु कार्कीको अध्यक्षतामा ९ सदस्यीय काँकरभिट्टा बस पार्क सौन्दर्य तथा वाटर फाउण्टेन पार्क निर्माण उपभोक्ता समिति गठन गरिएको छ । समितिले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने जनाएको छ ।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकारी, जनप्रतिनिधि, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारी र कर्मचारी तथा सर्वसाधारणको उपस्थिति थियो ।