विराटनगरः व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो । परम्परागत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्र प्राप्त गर्ने प्रकृतिको भएकाले प्रदेश सरकारले व्यवहारिक शिक्षालाई जोड दिइरहेको र त्यसै अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धि विषय समावेश गर्न मन्त्रालयले कार्यक्रमको आयोजना गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए । ‘विद्यार्थी विद्यालयबाट निस्केपछि बाटोमा सुरक्षित हुनुप¥यो, पानीमा सुरक्षित हुनुप¥यो, आगोमा सुरक्षित हुनुप¥यो, भूकम्पमा सुरक्षित हुनुप¥यो उ सुरक्षित भयो भने सिकाइको अर्थ रहन्छ, उसले समाजलाई सुरक्षित बनाउन सक्छ अनि राष्ट्र पनि सुरक्षित हुन्छ ।’ उनले भने ।

विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुनका लागि पढ्ने भन्दै यसलाई तोड्न सिकाइको नयाँ नीति अख्तियार गर्नुपर्ने आवश्यक रहेकोमा मन्त्री कार्कीको जोड छ । सहभागीले विद्यार्थीलाई बोझ हुने कुरा सिकाउनुभन्दा व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक भएको र सरकारले त्यसको सुरुवात गरेको बताएका छन् । प्रदेशका सबै स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय तथा केन्द्रको सरकारसँग पनि समन्वय गरेर यसलाई पूर्णता दिन सकिने विपद् तथा शैक्षिक क्षेत्रका जनकारहरूले बताएका छन् । उनीहरुले तहगत रुपमै विषय समावेश गर्न सकिने भन्दै प्रस्तुति दिएका थिए ।